अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य चुनावमा पुनः लिवरल सरकार विजयी

सिड्नी – अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा मार्च २३ तारिखमा भएको राज्यस्तरीय चुनावमा लिवरल तथा न्यासनल पार्टीको गठबन्धन सरकार तेश्रोपटक विजयी भएको छ ।

५७ औँ संसद्का लागि भएको उक्त चुनावमा विधानसभा अर्थात् तल्लो सदनका लागि ९३ सिट तथा विधानपरिषद् अर्थात् उपल्लो सदनका लागि ४२ मध्ये २१ सिटका लागि मतदान भएको हो ।

करिब ७० प्रतिशत मतणना भइसक्दा लिवरल पार्टी र न्यासनल पार्टीको गठबन्धनले ९३ मध्ये ४६ सिट जितिसकेको छ ।

त्यसैगरी विपक्षी लेवर पार्टीले ३५ सिट प्राप्त गरेको छ । यो जितसँगै न्यू साउथवेल्स राज्य चुनावको इतिहासमा प्रिमियर ग्लेडिज बेरिजिक्लिन् सबैभन्दा लोकप्रिय महिला प्रिमियरको रूपमा आफ्नो नाम लेखाउन सफल भएकी छिन् ।

लिवरल पार्टीकी अध्यक्ष तथा प्रिमियर ग्लाडिज बेरिजिक्लिन्ले पत्रकारहरूसँग कुरा गर्दै लिवरल पार्टीले ४७ देखि ४९ सिट प्राप्त गर्ने बताइन् । उनले भनिन् – “यो जितसँगै मलाई नयाँ टिम गठन गरेर काम गर्ने अवसर मिलेको छ ।

यो सजिलैसँग हासिल गरिएको जित भने होइन । त्यसैले यो जितसँग म प्रभावित पनि भएकी छु किनभने न्यू साउथ वेल्सका जनताले भनिरहेका छन् कि तिमीले सबै काम राम्रो नगरे पनि तिमीलाई विश्वास भने गरेका छौँ । अनि यो नतिजा हामीले आशा गरेको भन्दा राम्रो नतिजा पनि हो ।”

लेवर पार्टीका नेता माइकल डेलीले लिवरल र न्यासनल को गठबन्धनको विजय स्वीकार गर्दै प्रिमियर ग्लेडिज बेरिजिक्लिनलाई बधाई दिएका छन् । उनले चुनावमा लेवर पार्टीको पराजय भए पनि पार्टीको नेतृत्वबाट भने राजिनामा नगर्ने संकेत गरेका छन् । उनले लेवर पार्टीका अध्यक्ष बिल सर्टनको पूर्ण समर्थन रहेको पनि बताए।

पत्रकारसँग कुराकानी गर्दै नेता माइकल डेलीले ‘एसियन आप्रवासीहरूले स्थानीय कामहरू लगेको’ भन्ने प्रतिक्रियाका लागि फेरि माफी मागेका थिए । उनले भने – ‘मैले गलत शब्दहरूको चयन गरेको थिएँ, त्यसका लागि मैले माफी मागिसकेको छु र फेरि पनि हृदयदेखि नै माफी चाहन्छु ।”

उनले चुनावी प्रचारप्रसारका क्रममा केही त्रुटिहरू गरेको भए पनि समग्रमा आफूले लेवर पार्टीका लागि सक्दो प्रयास गरेको पनि बताए ।

डिसेम्बर २०१८ को तथ्यांकअनुसार अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा करिब ५३ लाख ६० हजार योग्य रहेको एनएसडब्लु चुनाव आयोगले जनाएको थियो । आयोगका अनुसार तल्लो र उपल्लो सदन गरी १ सय १४ वटा पदका लागि ९ सय ३६ उम्मेदवारहरूले यस चुनावमा उम्मेदवारी पेश गरेका थिए ।

अस्ट्रेलियामा योग्य मतदाताले राज्य स्तरीय तथा फेडेरल चुनावमा अनिवार्य रूपमा मतदान गर्नुपर्दछ । यदि मतदान गर्न नपाएको उचित कारण नदिइएको खण्डमा जरिवाना समेत तिर्नुपर्दछ ।

अस्ट्रेलियामा आगामी १८ मे २०१९ भित्र आधा सिनेट अर्थात् उपल्लो सदनका लागि तथा २ नोभेम्बर २०१९ भित्र प्रतिनिधि सभा अर्थात् तल्लो सदनका लागि फेडेरल चुनाव हुँदैछ जस्ले अस्ट्रेलियाको ४६ औं संसद् तथा प्रधानमन्त्रीको समेत तय गर्नेछ ।

चैत्र १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्