नातिसँगै एसइई परीक्षा

६९ वर्षको उमेरमा परीक्षा दिँदैछन् यी हजुरआमा (फोटोकथा)

परीक्षाअघि आइतबार बिहान ६ बजे घरमा अध्ययन गर्दै युगमाया कार्की।

काठमाडौँ – आइतबारदेखि एसइई परीक्षा सुरु भयो। कुनै बेला फलामेद्वारका रुपमा लिइने एसएलसी अहिले एसइई भएको छ। ओखलढुंगा लिखु गाउँपालिका घर भई हाल भक्तपुरको गोठाटार बस्ने युगमाया कार्की (६९ वर्ष) ले पनि नातिसँगै एसइई परीक्षा दिएकी छन् ।

आफ्नो स्कुलबाट एसइई परीक्षामा सहभागी हुन आइतबार परीक्षा केन्द्रतर्फ जाँदै युगमाया कार्की र उनका सहपाठीहरु।

७ सन्तानकी आमा उनले पढाइको इच्छा पूरा गर्न नातिसँगै एसइईको तयारी गरेकी थिइन्। आइतबारबाट सुरु भएको एसइई परीक्षाका लागि युगमायालाई उनको घरमा टिकाटालो गरेर शुभकामना दिइएको थियो।

युगमायालाई सफलताको शुभकामना दिँदै उनका भाइ तथा सांसद यज्ञराज सुनुवार।

उत्प्रेरणा महिला मावि सुविधानगर काठमाडौंबाट उनले एसइई दिएकी हुन् । २०६१ सालबाट ७ जना महिलाहरुले सुरु गरेको यस विद्यालयमा कक्षा १ देखि १०सम्मको पढाइ हुन्छ । यहाँ १४ वर्ष माथिका महिलाहरुलाई पढाइन्छ।

उनी अध्ययनरत उत्प्रेरणा महिला मावि सुविधानगर काठमाडौँमा सगुनको दही खाँदै युगमाया।

यहाँबाट २०६६ सालदेखि एसएलसी तथा एसइई दिने गरिएको हो। विद्यालयमा अहिले तीन सय जना अध्ययनरत छन् भने ३१ जनाले एसइई दिरहेका छन्।

युगमायालाई पहिलादेखि नै पढ्ने मन थियो। तर उनले भनेको जस्तो परिस्थिति रहेन। त्यतिबेला छोराहरुलाई मात्रै विद्यालय पढाउने चलन थियो। युगमायाको सानै उमेरमा विवाह भयो।

पहिलो दिन अंग्रेजीको परीक्षामा सहभागी हुुँदै युगमाया कार्की।

विवाहलगत्तै घरको काम अनि सात सन्तानलाई हुर्काउने जिम्मेबारी पूरा गर्दा गर्दै उनको उमेर ढल्क्यो। पढ्ने रहर पूरा गर्न उनले गाउँमा हुँदा प्रौढ कक्षा पनि लिइन्। तर भूकम्पपछि उनका छोराले काठमाडौँ ल्याए।

गाउँबाट काठमाडौँ आएपछि उनलाई यहाँको जीवन सहज भएन। पढाइ नहुँदा अनेकन समस्या भोग्नुपर्‍यो।  उनको मनमा फेरि पढाइ सुरु गर्नुपर्छ भन्ने दृढता बढ्दै गयो।

परिवारमा कुरा राखेपछि युगमायालाई बुहारीले विद्यालयमा भर्ना गरिदिइन्। विद्यालयमा पढाई र जीवनबारे बारे धेरै कुरा सिकेको बताउने युगमायाले आइतबार अंग्रेजीको परीक्षा राम्रो भएको बताइन्।

‘जानेको जति लेखेकी हुँ। पास हुन्छु भनेर दिएको हुँ। पास भइयो भने कलेज पनि पढ्ने हो’, उनले भनिन् । आफूले चाहेको राम्रो काम गर्नपिर मान्न नहुने उनले बताइन्।

परीक्षा सकेर परीक्षा केन्द्रबाट बाहिर निस्कँदै कार्की।

कतिले मलाई यो उमेरमा पनि के पढ्न मन लागेको होला भन्छन् तर मैले विद्यालय जाँदा कति धेरे कुराहरु सिकेकी छु भन्ने कुरा म शब्दमा बयान गर्न सक्दिन’, उनले भनिन्। उनको वास्तविक उमेर ६९ भए पनि नागरिकताअनुसार भने उनको उमेर ६७ वर्ष हो।

युगमायाका ७ सन्तान काठमाडौँमा व्यापार व्यवसाय तथा जागिरे छन् । उनका एक छोरा लिखु गाउँपालिका ७ का वडाअध्यक्ष हुन्।

युगमाया आफ्नो प्रवेशपत्र देखाउँदै।

भिडियो हेर्नुहोस्:

 

चैत १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्