चलचित्र समिक्षा

कमजाेर कथा तर दर्शकलाई बोर नलाग्ने ‘कागजपत्र’

सपना देख्न सबैलाई अधिकार छ। सपना नभएका मान्छे पनि हुँदैनन्। भन्छन् सपना नभएका मान्छे धरतीमा बोझ हुन्छन् रे।

सपनाका आयतन, धरातल भने व्यक्ति पिच्छे फरक हुन्छन्।

विज्ञापन

तर,

छाप्रोमा टुसुक्क बस्नेले भोलि नै महलमा सुस्ताएको सपना देख्यो भने पूरा गर्न के गर्छ?

चलनचल्तीकै शब्द प्रयोग गरौँ, ‘सटकट’।

जति सजिलो भन्न छ नि, त्यति सजिलो व्यवहारमा लागू गर्न छैन। भनाइ छ नि, ‘भन्या जस्तो गर्न गारो हुन्छ।’

चैत ८ गते प्रदर्शनमा आएको चलचित्र ‘कागजपत्र’ यस्तै अग्लो सपनाको चुचुरो भेट्ने सटकट बाटो हिँड्दाको कथा हो।

गाउँको हुलाक चौकीको पियन हुन् राजकुमार (भोलाराज सापकोटा)। दाङ तुलसीपुरका सडकमा बेपत्तासँग साइकल गुडाउँदै अफिस आउजाउ गर्छन्। उनको सम्पत्ति भनेको सानो बारी अनि वर्षभरी खाना खान नपुग्ने अन्न उत्पादन हुने खेत। स्कूल जाने उमेरका छोराछोरी अनि रहरै रहर मनमा पालेकी श्रीमती। जेनतेल अहिलेसम्म घरबार चलाएकै छन्।

देवी (सावित्री गिरी) को थुप्रै सपना छ, पक्की घर, छोराछोरीलाई राम्रो स्कूलमा पढाउने इच्छा, फेरिफेरी सारी लगाउने अनि धपक्कै गहना लगाएर बुढासँग गाडीमा बसेर जाने। यी माथि उल्लेखित कुनै पनि रहरलाई उनले चाख्न भ्याएकी छैनन्। सँगैका साथीसँगीझैँ झकिझकाउ हुने रहले उनलाई झक्झकाइरहेको छ, त्यसैले श्रीमान राजकुमारलाई विदेश पठाउन उनले जे जे गर्छिन् अनि त्यसले जे परिणाम निम्त्याउछ, ‘कागजपत्र’ को कथावस्तुले यही बोल्छ।

यो कथालाई पूर्णता दिने अर्को पात्र हुन् बुनु (शिल्पा मास्के)। जो नर्सिङको पढाइ सकेर बसेकी छन्। उनलाई उच्च शिक्षाको लागि जसरी पनि अष्ट्रेलिया जानु छ। नाता गोतामा बुनु र देवी दिदीबहिनी हुन्छन्। बहिनीको अष्ट्रेलिया जाने र श्रीमानलाई विदेश पठाउने देवीको रहरले ‘मिटिङ’ प्वाइन्ट भेट्छ अनि बग्छ हुन्छ ‘कागजपत्र’ को कथा।

यो टोलीलाई सघाउने एउटा ठिटो छ, केशव (नाजिर हुसेन)। बुनुको प्रेमी। माया अन्धो हुन्छ भन्छन् नि, बुनुलाई आँखा चिम्म गरेर माया गर्ने यो ठिटो आफू आत्मनिर्भर भएर पनि बुनुको विदेश जाने रहरलाई ओझेलमा पार्न सक्दैन। बरु उसलाई सघाउँदै जान्छ।

पछिल्लो समय रोजगारीको लागि अनि उच्च शिक्षाको नाममा विदेशिने युवा पुस्ताको कथा हो कागजपत्र । जहाँ जे पनि जायज बनाइन्छ। चलचित्रको कथा विदेशिनकै लागि आधा उमेर बढी भएका भिनाजुसँग विवाह गरेको झुटो कागजपत्र बनाउने बुनु, श्रीमान् विदेश पठाउन आफ्नो श्रीमान् सालीलाई सुम्पने दिदी अनि श्रीमतीको जिद्दी राजकुमार र उनीहरुलाई सघाउने प्रेमीबीच घुम्छ।

फर्जी कागजपत्र बनाउन सिकाउने म्यानपावर, खिसी गर्ने समाज अनि अनि सामाजको नैतिक मान्यतासँग हच्किएको परिस्थिति समेटिएका छन्। पौने २ घण्टाको चलचित्र सामाजिक घटनामा आधारित छ।

सवल पक्ष

समसामयिक सामाजिक परिस्थितिको रचनात्मक चित्रण चलचित्रले गरेको छ। रहर अनि बाध्यताबीचमा फस्दा मानिसले के गर्न ठिक बेठीक भनेर छुट्याउन सक्दैन। अभावले मानिसलाई कुन स्तरमा लैजान्छ, द्वुविधाको अवस्था अनि समाजको डर प्रस्तुत गर्ने शैलि राम्रो छन्।

चलचित्र प्रमोशनका क्रममा कलाकार नाजिर हुसेनले भनेका थिए, ‘म यो चलचित्रमा टिम देखेर जोडिएको हुँ।’ निर्देशकले कलाकारलाई आफ्नो भूमिकामा राम्ररी उभ्याएका छन्। कलाकारको टोलि सबै थियटर ब्याकग्राउण्डका भएकोले अभिनयमा कहीँपनि खोट लगाउने ठाउँ छैन। नायिका शिल्पाको यो दोस्रो चलचित्र हो । उनी पनि नयाँ लाग्दिनन्।

चलचित्रमा समावेश भएका गीत सान्दर्भिक लाग्छन्। पौने २ घण्टाको समयअवधिभर दर्शकलाई बोर लाग्दैन । पहिलो हाफमा दर्शक पेट मिचिमिचि हाँस्न पाउछन्।

दोस्रो हाफ केही सिरियस देखिन्छ तर चलचित्रको ह्याप्पी इन्डिङ छ। चलचित्रले मानिसको प्रवृतिलाई सुन्दर तरिकाले व्यंग्य गरेको छ।

दुर्वल पक्ष

चलचित्रको कथावस्तुको प्रस्तुति अलि कमजोर छ। पहिलो हाफमा कथा बगेपनि दोस्रो हाफमा गएपछि विषवस्तुहरु तितरबितर हुन्छ। दोस्रो हाफमा प्रस्तुत भएका परिस्थितीहरु नाटकीय लाग्छन्। निर्देशकीय पक्ष बलियो भएपनि यो चलचित्रमा लेखकको काम गरेका अपिल विष्ट कमजोर लाग्छन्।

कलाकारहरुमा खलपात्र चमकमा परेका छैनन्। नाजिर सहायक पात्र जस्ता देखिन्छन्। जति राम्ररी कथा सुरु हुन्छ त्यसरी अन्त्य हुन सकेको छैन।

चलचित्रका दृश्यहरुमा कुनै कुनै दृश्य फोकस नमिलेको जस्तो देखिन्छन्।

अनि चलचित्रका संवाद धेरै ठाउँमा द्विअर्थी छन्। दर्शकलाई हँसाउनकै लागि यस्ता शब्द धेरै प्रयोग हुनु सामान्य लाग्दैनन्।

तर,

धेरैपछि सामाजिक विषयमा बनेको चलचित्र आएको छ। केही आशा गर्न सकिन्छ। चलचित्रभित्र समावेश भएका केही परिस्थितिले हामी आफैलाई सोच्न बाध्य बनाउँछ ।

नाम– ‘कागजपत्र’
समय– १ घण्टा ४५ मिनेट
जनरा– सामाजिक व्यंग्य
निर्देशक – अपिल विष्ट

 

चैत्र १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्