गाली गरेको भन्दै शिक्षकले मागे मन्त्रीको राजीनामा

जनकपुरधाम – एसइईमा खटिएका निरीक्षक र केन्द्राध्यक्षलाई गाली गरेको भन्दै नेपाल शिक्षक संघले प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको राजीनामा माग गरेको छ ।

जनकपुरको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रका अनुगमनको क्रममा केन्द्राध्यक्ष र गार्डहरुलाई अपशब्द प्रयोग गरेको भन्दै शिक्षकहरुले राजीनामाको माग गरेको हुन् ।

जनकपुरमा पत्रकार सम्मेलन गरेर नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष राम स्नेही यादवले मन्त्री जस्तो पदमा बसेकाले शिक्षकमाथि अपशब्दहरु प्रयोग गरेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरे ।

आइतबार देखि शुरु भएको एसईई परीक्षाको अनुगमन क्रममा मन्त्री साह सरस्वती माध्यमिक विद्यालयमा पुग्दा अधिकांस गार्डहरुले फोटो सहितको परिचय पत्र नराखेको प्रति आक्रोशित भएका थिए ।

सामाजिक विकास मन्त्री नवलकिशोर साह

यसैक्रममा उनले गार्डहरुलाई अपशब्द समेत प्रयोग गरेको बताइएको छ । परीक्षा केन्द्र पुग्दा परीक्षा अमर्यादित रुपमा भइरहेको भन्दै मन्त्रीले सुझाव दिने क्रममा गाली गरेको र अधिकांशमाथि अपशब्द प्रयोग गरेको शिक्षकहरुको गुनासो छ ।

त्यस्तै मन्त्री शाहले केन्द्राध्यक्ष सत्य नारायण मण्डलमाथि पनि जागिर खाइदिने, केन्द्राध्यक्ष पदबाट हटाइदिने धम्की दिएको र बेवकुप भनेर हप्काएको बताइएको छ । यता मन्त्री साहले आफू परिक्षा केन्द्र पुग्दा परीक्षा निकै अमर्यादित रुपमा संचालनमा रहेको पाइएको जानकारी दिएका छन् ।

उनले परीक्षालाई मर्यादित बनाउन प्रयास गर्दा शिक्षकहरुले गलत आरोप लगाएको बताए ।

चैत ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्