चुनावमा हारपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स लेवर पार्टीका नेताद्वारा राजीनामा

सिड्नी – अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका लेवर पार्टीका नेता माइकल डेलीले राजीनामा दिएका छन् । एक वक्तव्य जारी गर्दै डेलीले पेनी सार्पले उनको स्थान लिने उल्लेख गरेका छन् । सार्प उपल्लो सदनकी सदस्य तथा न्यू साउथ वेल्स राज्यमा लेवर पार्टीकी उपनेता पनि हुन् ।

नेता माइकल डेलीले अहिले राजीनामा दिए पनि आगामी फेडेरल चुनावपश्चात् पुनः दावेदारी पेश गर्ने संकेत भने दिएका छन् । पत्रकारहरूसँग कुरा गर्दै डेलीले भने – “यो सही र उचित कदम हो । मैले लेवर पार्टीको मर्म र नियमअनुकूलको नै आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको हुँ ।”

गत मार्च २३ तारिखमा भएको राज्यस्तरीय चुनावमा लिवरल तथा न्यासनल पार्टीको गठबन्धन सरकार तेश्रोपटक विजयी भएपछि विपक्षी लेवर पार्टीका नेता माइकल डेलीले राजीनामा दिने घोषणा गरेका हुन् ।

प्रिमियर ग्लाडिज बेरिजिक्लिन्को लिवरल तथा न्यासनल पार्टीको गठबन्धन सरकारले तल्लो सदनमा ९३ सिटमध्ये ४७ सिट प्राप्त गरिसकेको छ ।

५७ औँ संसद्का लागि भएको उक्त चुनावमा विधानसभा अर्थात् तल्लो सदनका लागि ९३ सिट तथा विधानपरिषद् अर्थात् उपल्लो सदनका लागि ४२ मध्ये २१ सिटका लागि मतदान भएको हो

चैत्र ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्