प्रदेश १ मा टिपरमाथि टाइम कार्ड लागु

प्रदेश १ मा टिपरमाथि टाइम कार्डकाे सुरुवात गर्दै ट्राफिक प्रहरी।तस्बिरः देश सञ्चार

मोरङ– प्रदेश नम्बर १ मा सवारी दुर्घटना न्यूनीकरणका लागि मालवहाक टिपरमाथि टाइम कार्ड लागु गरिएको छ।

सोमबार मोरङको भाउन्नेमा एक कार्यक्रमका अवसरमा पहिलो पटक मोरङमा टिपर चालकलाई टाइम कार्ड वितरण गरिएको प्रदेश १ ट्राफिक प्रहरी प्रहरी प्रमुख एसपी रविराज पौडेलले जानकारी दिए। टिपरमा युवा चालकको बाहुल्यता रहेको बताएका एसपी पौडेलले टिपर मालिकबाट प्रदान गरिने आकर्षक भत्ता, मादक पदार्थसेवनका कारण अधिक सडक दुर्घटना हुने गरेको बताए। सोही दुर्घटना न्यूनीकरणका लागि टाइमकार्डको प्रावधान अघि बढाइएको उनले स्पस्ट पारे।

टाईम कार्ड लागू गरिपछि निर्धारित दूरीमा निर्धारित समयमा टिपर नचलाएमा पहिलो पटक सम्झाउने र दोस्रो पटक कारवाही गरिने एसपी पौडेलले बताए। यद्यपी, यसअघि प्रदेश नम्बर १ ट्राफिक प्रहरीले बिहान २ घण्टा र बेलुका २ घण्टा टिपर सञ्चालनमा लगाउँदै आएको रोक तत्कालका लागी यथावत रहने जनाइएको छ। सोही नियम अनुसार चल्न चालकहरुलाई निर्देशन दिइसकिएको एसपी पौडेलले बताए।

त्यसैगरि, कार्यक्रममा टिपरका कारण मात्र सडक दुर्घटना नहुने भन्दै पूर्वाञ्चल टिपर व्यवसायी महासंघका अध्यक्ष गोपाल कार्कीले दुर्घटनामा टिपर बढी निशानामा पर्ने गरेको गुनासो गरे। तथापि प्रहरीसंगको सहकार्यमा आफूहरुले टाईम कार्ड लागूका लागि पहल गरेको उनले बताए।

केही समयअघि मोरङको सुन्दरहरैंचा नगरपालिकामा भएको टिपर दुर्घटनामा ११ वर्षिया लक्ष्मी ढकालको मृत्यु भएको थियो। सो क्रममा आक्रोशित भीडले कम्तीमा ७ वटा टिपरमा आगजनी गरेका थिए।

चैत ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्