पक्राउ परेका विप्लवका दुइ नेतामाथि संगठित अपराध मुद्दा

जिल्ला प्रहरी कार्यालय मोरङ।

मोरङ- सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कोशी व्‍यूरो संयोजकसहित दुई नेतालाई प्रहरीले मोरङ जिल्लाबाट पक्राउ गरेको छ।

आइतबार राति मोरङको कानेपोखरी गाँउपालिका-४ स्थित बयरवनबाट कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पुश्कर र कोशी ब्युरो सदस्य आकाश शर्मा भनिने माधव गौतम रहेकाछन् । श्रेष्ठ काठमाडौं निवासी हुन् भने शर्मा काभ्रेका स्थानीय हुन्।

उनीहरु दुवैको विषयमा धेरै कुरा नखुलाएपनि नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले दुवै जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

पक्राउ परेका दुवै जनालाई आइतबार राति नै इलाका प्रहरी कार्यालय धरानमा पुर्‍याइएको थियो। प्रहरी प्रवक्ता सुवेदीले दुवै जना विरुद्ध धरानबाटै सोमबार संगठित अपराध र हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउन अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको बताए।

यद्पि पक्राउ परेको दुवै जनालाई सडकमा गफ गरिरहेको अवस्थामा पक्राउ गरिएको बताइएको छ। विप्लवको आन्तरिक प्रशिक्षण आयोजना हुने गोप्य सूचनासँगै क्षेत्रीय ब्युरो, इलाका प्रहरी कार्यालय धरान र मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट संयुक्त टोली जिल्लामा परिचालित भएको थियो। यसक्रममा प्रहरीले दुई जनालाई पक्राउ गर्न सकिए पनि अन्य नेता कार्यकर्ता भने फरार भएको जनाएको छ।

उनीहरुलाई पूर्व–पश्चिम राजमार्गबाट ७ किलोमिटर दक्षिणबाट पक्राउ गरेसंगै इलाका प्रहरी कार्यालय पथरीमा लगिएको थियो। यसक्रममा प्रहरीले उनीहरुका साथबाट नगद, मोवाइल, केही कागजपत्र र विभिन्न सिमकार्डहरु बरामद गरेको जनाएको छ।

हालसम्म प्रहरीले पक्राउबारे जानकारी नदिइ घटनालाई गुपचुप राख्दै आएको छ। त्यसैगरि, प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सिद्ध न्यौपानेले सोमबार साँझसम्म विप्लवका कोही पनि कार्यकर्ता पक्राउ नपरेको दावी गरे।

उनले भने, ‘पक्राउबारे तपाइहरुलाई कसरी जानकारी आयो। पक्राउ गरेको हुदाँ सार्वजनिक गर्ने थियौं। हामीले पक्राउ गरेका छैनौ।,’
अर्कोतर्फ सोमबार साँझ सम्पर्कमा आएका विप्लवकै एक नेताले पक्राउ गरिएका श्रेष्ठका साथबाट पाँच लाख रुपैयाँ भन्दा बढी नगद प्रहरीले बरामद गरेको जानकारी दिएकाछन्।

‘एउटा कार्यक्रममा हिंडेका थियौं । ती नेताले भने, ‘कार्यक्रमका लागि आवश्यक पर्ने पैसा बोक्नु भएका साथीलाई प्रहरीले पक्राउ गर्‍यो । हामी भाग्न सफल भयौं ।’

चैत ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्