भ्रष्टाचार पुष्टि भए अख्तियारका पूर्वआयुक्त पाठकलाई ११ वर्ष जेल!

काठमाडौँ– मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका आयोगकै पूर्वआयुक्त राजनारायण पाठकलाई ११ वर्षसम्म जेल सजाय हुन सक्ने भएको छ।

आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दै घुस लिएको ७८ लाख बिगो माग गर्दै ९ देखि ११ वर्षसम्म जेल सजाय माग गरेको हो।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इञ्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाउन पाठकले ७८ लाख घुस लिएको अडियो–भिडियो सार्वजनिक भएपछि उनले फागुन ३ गते राजीनामा दिएका थिए । राजीनामा लगत्तै आयोगले पाठकविरुद्ध छानबिन सुरु गरेको थियो ।

पाठकले आफ्नो पदीय ओहोदाको दुरुपयोग गरी भ्रष्टाचारजन्य कसुर गरेको श्रव्य दृश्यमार्फत पुष्टि भएको आयोगले अभियोग पत्रमा उल्लेख गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ मा कुनै पनि राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा गरिदिए बापत वा नगर्न वा नगरिदिए बापत वा आफ्नो ओहदा दुरुपयोग गर्न नहुने उल्लेख छ ।

ऐनको दफा ३ (ज) अनुसार २५ लाखदेखि एक करोड रुपैयाँसम्म लेनदेनमा सहभागी भएको राष्ट्र सेवकलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले मुद्दामा पाठकलाई त्यस्तै व्यवस्थाअनुसार कैद सजाय माग गरिएको जानकारी दिए ।

त्यस्तै पाठकलाई ऐनको दफा २४ अनुसार थप तीन वर्ष कैद सयाज माग गरिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ ले राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक निकायका पदाधिकारी भ्रष्टाचारजन्य कार्य संलग्न भएमा थप तीन वर्ष कैद सजाय हुने व्यवस्था गरिएको छ ।

दफा २४ मा भनिएको, ‘संवैधानिक अंग वा निकायका पदाधिकारी, राष्ट्रपतिबाट मनोनयन वा नियुक्त हुने पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सो सरहका पदाधिकारी, सार्वजनिक संस्थाका प्रमुख महाप्रबन्धक वा सो सरहका पदाधिकारीले यस परिच्छेद अन्तर्गतका कसुर गरेमा निजलाई त्यस्तो कसुरमा हुने सजायमा थप तीन वर्षसम्म कैद सजाय हुनेछ ।’

आयोगले घुस दिने इञ्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेसँग ७८ लाख बिगो दाबी गर्दै ६ देखि ८ वर्षसम्म कैद सजाय माग गरेको छ ।

यस्तो छ आयोगको अभियोगपत्र

चैत १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्