फाइल तस्बिर

पोखरा-दुर्घटनाको कारण देखाउँदै प्याराग्लाइडिङ सोलो (एकल उडान) माथि लगाइएको प्रतिबन्ध २० दिनपछि फुकुवा भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) केन्द्रीय कार्यालयको चैत्र १० गते बसेको बैठकले सोलो उडानको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको क्यान पोखराका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए।

सोलो उडानकै क्रममा पोखरामा फागुन तेस्रो साता तिनसम्म लगातार भएका चार दुर्घटनामा दुई जना विदेशीको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए । तोकिएको एयर स्पेस भन्दा बाहिर गई उडान भरेको भन्दै फागुन २१ गतेबाट सोलो उडानमा क्यान पोखराले रोक लगाएको थियो।

दुघर्टनामा जिम्मेवार देखाउँदै पोखरा दुई प्याराग्लाइडिङ कम्पनीलाई क्यानले हालसम्म पनि कालो सूचिमा राखेको छ। ब्लु स्काई र फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनीलाई कारवाही स्वरुप कालो सूचिमा राखेको हो। उक्त कम्पनीलाई कालो सूचिबाट हटाउने विषयमा बैठकले कुनै निर्णय भने नगरेको सूचना अधिकारी पौडेलले जानकारी दिए।

सोलो उडानका लागि प्याराग्लाइडिङ कम्पनी मार्फत सिफारिस लिई क्यानमा ५ हजार ६ सय ५० रुपैयाँ दस्तुर बुझाई १५ दिनका लागि उडान अनुमति लिन सकिने व्यवस्था छ।

क्यान अन्तर्गतकै फ्लाइट सेफ्टी स्टान्डर्डस् विभागले प्याराग्लाइडिङलाई कारवाही नियमन गर्ने भएपनि ठोस नीति नहुँदा गलत गर्ने कम्पनीलाई कारवाहीको प्रक्रिया चाल्न भने सकेको देखिदैंन।

विभागले नेपालमा दर्ता सञ्चालनमा भएका सम्पूर्ण प्याराग्लाइडिङ कम्पनीलाई ०७५ जेठ ९ गते गरेको परिपत्र अनुसार सरकारले तोकेको सर्त बेगर उडान गरे पाइलटको लाइसेन्स खारेजीदेखि कम्पनीको इजाजत पत्र समेत रद्द गर्न सकिने कारबाहीको व्यहोरा उल्लेख छ।

कम्पनीको सञ्चालन प्रमाण पत्र बैधता नरहेको अवस्थामा व्यावसायिक उडान गरेको पाइएमा प्रचलित फौजदारी कानुन अन्तर्गत सञ्चालक तथा पाइलटहरुलाई कारवाही हुने व्यवस्था छ।

कास्कीमा पोखरा १८ स्थित सराङकोट, तोरीपानी र मान्द्रेढुंगा क्षेत्रबाट व्यावसायिक तथा एकल उडानका लागि अनुमति छ।सराङकोटबाट उडान अनुमति पाएका कम्पनीले खपौदीमा ल्याण्डिङ गर्नुपर्ने हुन्छ । तोरीपानीबाट अनुमति लिएका कम्पनीले चंखपुरमा ल्याण्डिङ गर्नुपर्ने हुन्छ।

मान्द्रेढुंगा क्षेत्रबाट उडान अनुमति लिने कम्पनीले पामेमा अवतरण गर्नुपर्ने नियम सहित प्राधिकरणले सबै क्षेत्रको एयर स्पेस तोकेको छ। तोकिएको क्षेत्रभन्दा अन्य क्षेत्रबाट उडान अवतरण गर्न अनिर्वाय रुपमा प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था छ। अधिकांश कम्पनीले प्राधिकरणको नियमलाई लत्याउँदै आएका छन्।

मान्द्रेढुंगा र तोरीपानीबाट उडान अनुमति पाएका कम्पनीले समेत सराङकोट क्षेत्र नजिकै पर्ने भएको हुँदा त्यहीँबाट उडान भर्ने गरेको पाइन्छ। पोखरा महानगरपालिकामा दर्ता भएर कर तिरेका ४७ प्याराग्लाइडिङ कम्पनीले हाल टेन्डम तथा सोलो उडान भर्दै आएका छन्।

चैत १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्