इमरान खानले के भने र अफगानिस्तानले माग्यो पाकिस्तानसँग स्पष्टिकरण ?

फाइल तस्बिर।

अफगानिस्तानले पाकिस्तानबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको एक टिप्पणीका कारण रुष्ट बनेको अफगानिस्तानले आफ्ना राजदूत फिर्ता बोलाएको हो ।

पाकिस्तानी प्रधानमन्त्री खानले अफगानिस्तानमा अन्तरिम सरकार बन्नु पर्ने बताएका थिए । खानको टिप्पणी गैरजिम्मेवार रहेको भन्दै अफगानिस्तानले आपत्ति जनाएको हो । अफगानिस्तानमा अन्तरिम सरकार बनेमा अमेरिका र तालिबानबिचको वार्ताले गति लिने खानले बताएका थिए ।

तालिबानका नेता अफगानिस्तानको वर्तमान सरकारसँग वार्ता गर्न नचाहने भएका कारण अन्तरिम सरकार बन्नु पर्ने खानले बताएका हुन् । अफगानिस्तानको वर्तमान सरकार तालिबानसँगको वार्ता प्रक्रियाका लागि बाधक रहेको पाकिस्तानी प्रधानमन्त्री खानको भनाई थियो ।

अफगान सरकारकै कारण तालिबानसँगको प्रस्तावित वार्ता रद्द भएको उनले आरोप लगाए । अफगानिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो ट्वीटर ह्याण्डलमार्फत पाकिस्तानी प्रधानमन्त्री खानको भनाईको कडा आलोचना गर्दै पाकिस्तानले अफगानिस्तानको सम्प्रभूताको सम्मान नगरेको र हस्तक्षेपको नीतिमा अघि बढेको बताएका छन् ।

यो घटनाका सम्बन्धमा अफगानिस्तानले पाकिस्तानसँग स्पष्टिकरण मागेको छ । अमेरिकाले अफगानिस्तानमा तालिबानसँग वार्ताको प्रयास गरिरहेको छ र यो प्रयासमा पाकिस्तानको पनि भूमिका छ ।

चैत १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्