लगानी सम्मेलन व्यवधानबिना सफल हुने सरकारको दाबी

काठमाडौँ —सरकारले कुनैपनि अवरोध या व्यवधानबिना लगानी सम्मेलन सफल हुने र त्यसबाट उपलब्धी समेत हाँसिल हुने दाबी गरेको छ।

आगामी चैत्र १५ र १६ गते राजधानीमा हुन लागेको लगानी सम्मेलनमा कुनै पनि किसिमको अवरोध नहोस् भन्नेमा आफू सचेत रहेको र त्यसअनुसार तयारी पूरा गरेको सरकारले दाबी गरेको छ।

बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री युवराज खतिवडाले पछिल्लो समय चुनाैती बनेको विप्लव समूहमाथि निगरानी र उच्च सुरक्षा सतर्कता अपनाएको र त्यसको जोखिम नियन्त्रणमा सरकार सक्षम रहेको बताए।

उनले भने,‘लगानी सम्मेलनलाई असर नपुगोस भन्नेमा सरकार पूर्ण सचेत छ। विदेशी लगानी कर्ता पाउनहरुको सुरक्षा चुस्त रहने छ। ’

अर्थमन्त्री खतिवडाले विप्लव समूहलाई आफै पराजित हुने काम नगर्न र विदेशी पाहुनाका अघि नेपालको छवि नबिगार्न आग्रह समेत गरे । मुलुकमा वैदेसिक लगानी गर्ने प्रशस्त आधारहरु तयार भएको भन्दै त्यसमा सहकार्य गर्न मन्त्री खतिवडाले सरोकारवाला निकायलाई आग्रह समेत गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६ सय भन्दा बढी विदेशी लगानीकर्ताहरु सामेल हुने छन्।

यस्तै सम्मेलनमा सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको सहतागिता रहने छ।

अर्थमन्त्री खतिवडाले अव मुलुकमा लगानी गर्ने वातावरण बनिसकेको भन्दै सम्मेलनलाई लक्षित गरी सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन गरिसकेको जानकारी दिए।

यस्तै नेपालको वैज्ञानिक कर प्रणालीले विदेशी लगनीकर्तालाई आकर्षित गर्ने मन्त्री खतिवडाको दावी छ।

सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेशी आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा नेपाल आउनेछन्।

अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्रका विकास सम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्य सञ्चालन सम्बन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, युनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रतिनधिहरु सम्मेलनमा सहभागि हुनेछन्।

मन्त्री खतिवडाका अनुसार दुई दिने सम्मेलनको पहिलो दिन सरकारले लगानीका अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधार प्रस्तुती दिने छ।

त्यस्तै सोही दिन नेपालमा लगानी गरिरहेका स्वदेशीकै अनुभव, अन्तर्राष्ट्रिय लगानी कर्ताको लगानी सम्बन्धी अनुभवसहित सात वटा विषयगत सत्रहरु सञ्चालन हुनेछन्।

मन्त्री खतिवडाले यो सम्मेलनमार्फत विश्वका लगानीकर्ताहरुलाई नेपालमा अवसर, लगानी प्रवद्धनका लागि सरकारले लिएको नीतिगत तथा कानुनी प्रक्रियाबारे जानकारी गराउने अवसरका रुपमा लिएको बताए।

यस्तै नेपाल लगानीका लागि उत्कृष्ठ गन्त्वय रहेको सन्देश दिने अवसरका रुपमा पनि यो सम्मेलनलाई लिएको उनको भनाई छ। सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय लक्ष्य हासिल गर्न लगानी सम्मेलनले सहयोग पुर्याउने उनको विश्वास छ।

मन्त्री खतिवडाले स्वदेशी तथा विदेशी दुवै लगानीकर्तालाई ऋण दिने व्यवस्था सरकारले गर्न लागेको जानकारी समेत दिए।
सम्मेलनलाई सफल बनाउन अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष युवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति समेत गठन गरिएको छ।

निजी क्षेत्रद्धारा पनि लगानीमा आश्वस्त पार्ने प्रयास


निजी क्षेत्रले समेत नेपालमा ढुक्क भएर लगानी गर्न वैदेसिक निकायलाई आग्रह गरेको छ। उद्योग वाणिज्य संघका उपाध्यक्ष भवानी राणाले पहिले राजनीतिक, उर्जा, श्रम लगायत समस्या देखाएर लगानी गर्न पछि परेकाहरु अहिले अघि सरेको बताइन् । र आफूहरुले पनि आफ्नै उदाहरण दिएर उनीहरुलाई नेपालमा लगानीको आधारहरु दिइरहेको उनको भनाई छ।

उनले भनिन,‘ अहिलेको लगानी सम्मेलनले धेरै नै उर्जा थपेको छ। राजनीतिक स्थिरता कायम भएको छ, स्थिर सरकार छ र उसले आर्थिक समृद्धिको लक्ष्य समेत राखेकाले हामीलाई पनि त्यसबारे आश्वास्त बनाउन सहज भएको छ।

तर उनले कतिपय नीतिगत विषयमा संशोधन गर्न आवश्यक रहेको बताइन्।

चैत १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्