नेपालका प्रितम र आयुष सारेगमप लिटल च्याम्पस्‌को ‘टप-१४’ मा

विर्तामोड- गत आइतबार भारतको जी टिभीबाट प्रशारित ‘सारेगमप लिटल च्याम्पस्’ मा इटहरी उपमहानगरपालिका ५ का ११ बर्षिय बालक प्रितम आचार्य गाउँदै थिए।

‘सोचेंगे तुम्हे प्यार…करके नहीँ….’

सोही प्रस्तुतीमा उनले शत प्रतिशत अंक प्राप्त गरे। अहिलेसम्म उनले दिएका प्रस्तुतीमा एउटा बाहेक सबैमा शत प्रतिशत अंक प्राप्त गरेका छन्।

केही हप्ता अघि उनले ‘बचना ए हसिनो, लो मै आ गया…’ गीत गाउँदा त्यहाँको माहोल एकाएक तातेको थियो।

निर्णायकहरु रिचा शर्मा, शान तथा अमाल मल्लिक उनका गीत सुनेर उनलाई प्रोत्साहन दिइरहेका छन्।

सिन्धुपाल्चोक स्थायी घर भइ हाल भक्तपुरको नयाँ ठिमीमा बसोबास गर्ने अर्का प्रतियोगी १२ बर्षिय आयुष केसीले ‘कुछ ना कहो….’ बोलको गीत गाउँदा निकै वाही वाही पाए।

अहिलेसम्मको उनको प्रस्तुतीमा निर्णायकहरु सन्तुष्ट देखिन्छन्। आयुष र प्रितम दुवै जना उत्कृष्ट १४ मा पुगेका छन्।

जी टिभीको संगीतको बच्चाहरुको संगीत प्रतिभा प्रस्तुत गरिने रियालिटी सो सारेगमप लिटल च्याम्पसको २०१९ को संस्करणमा दुई जना नेपाली बालक प्रतिम आचार्य र आयुष केसी प्रतिष्पर्धामा छन्।

उनीहरु डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिसन, मेघा अडिसन हुँदै अहिले उत्कृष्ट १६ मा आइपुगेका छन्।

प्रतिमकी आमा राधिकाले उनीहरुको प्रस्तुतीले परिवार तथा सबै नेपालीलाई खुशी तुल्याइदिएको बताइन्।

आयुषका बुबा रामकृष्णले आफ्नो छोराले राम्रो प्रस्तुतिका लागि सक्दो प्रयास गरिरहेको बताए।

प्रितम र आयुष करिब तीन बर्ष अघि नेपालमै आयोजना गरिएको शूरशाला जुनियर आइडलका प्रतियोगी थिए। त्यो बेला आयुष पहिलो र प्रतिम दोस्रो भएका थिए।

गत फेब्रुअरी ९ तारिकबाट शुरु भएको उक्त रियालिटी सोको उत्कष्ट १४ प्रतियोगीहरुको प्रतिष्पर्धा झन् कडा हुने बताइन्छ।

दुवै बालकले सामाजिक सञ्जालमार्फत जीतको शुभकामना पाइरहेका छन्।

देश विदेशमा रहेका धेरै नेपालीहरूले शुभकामना दिइरहेका छन्। भारतीय कलाकारहरुले पनि उनीहरुको प्रस्तुति हेरेर खुलेर प्रशंसा गरेका छन्।

चैत्र १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्