मोरङमा अनेरास्ववियू र नेविसंघबीच झडप, तीन जना घाइते

मोरङ– मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघका विद्यार्थीबीच झडप भएको छ।

बुधबार क्याम्पस परिसरमा विभिन्न मागसहित दोहरो सुविधा खारेजीको माग गर्दै आएका नेविसंघका विद्यार्थीमाथि अनेरास्ववियूका विद्यार्थीले कुटपिट गरेको आरोप विद्यार्थीहरुले लगाएका छन्।

विभिन्न सुविधा खारेजीको माग गर्दै क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाउने क्रममा झडप भएको नेविसंघका मोरङका क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति होमनाथ पोखरेलले जानकारी दिए। सहज वातावरणमा ज्ञापन पत्र बुझाउने कार्यक्रम सफल हुन नसकेपछि, धर्ना दिने क्रममा झडप भएको सभापति पोखरेलले बताए।

झडपपछि क्याम्पस केही समय तनावग्रस्त बनेको थियो। विहान करिब ८ बजेटबाट सुरु भएको झडपका कारण झन्डै दुई घण्टा क्याम्पस परिसर रणमैदान बन्न पुगेको प्रत्यक्षदर्शी विद्यार्थीहरुले बताए।

त्यसपछि, प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो। झडपमा परेर नेविसंघका चार नेता घाइते भएका छन्। यस क्रममा नेविसंघ क्याम्पस इकाई सभापति विजय तोलाङ्गी, सचिव समीर सम्राट र सदस्य जीवन बस्नेत घाइते भएको क्याम्पस प्रशासनले जनाएको छ। नोबेल अस्पतालमा उपचारका लागि ल्याइएका घाइते मध्ये तोलाङ्गीको टाउकोमा ६ वटा टाँका लगाइएको छ।

क्याम्पसका प्राध्यापकहरुले अन्यत्र पनि पठनपाठन गराएर दोहोरो सुविधा लिने गरेको भन्दै त्यसको विरोधमा गत फागुन २० गतेदेखि सुकुना क्याम्पसमा नेविसंघ आन्दोलनरत छ। तीन नम्बर क्षेत्रका सभापति पोखरेलका अनुसार, सुकुना क्याम्पसमा प्राध्यापन गर्ने १५ जना प्राध्यापकले अन्यत्रका क्याम्पस र सरकारी विद्यालयमा पनि पढाएर दोहोरो सुविधा लिइरहेका छन्। उनले शिक्षकले लिंदै आएको दोहोरो सुविधा तत्काल बन्द गर्नुपर्ने आफूहरुको माग रहेको बताए।

अर्कोतर्फ अखिलका क्याम्पस कमिटी अध्यक्ष मिलन बस्नेतले नेविसंघले पठनपाठन अवरुद्ध गर्दै आन्दोलन थालेपछि त्यसो नगर्न आग्रह गर्दा झडपको स्थिति उत्पन्न भएको बताएका छन्।

चैत १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्