कानुनमन्त्रीले गरे श्रम तथा रोजगार कार्यालयको अनुगमन

जनकपुरधाम- प्रदेश-२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय अनुगमन गरेका छन्।

श्रम कार्यालय जनकपुरधाममा सेवाग्राहीको काम ढिलो हुने र कार्यालय भित्र बिचौलियाको बिगबिगी भन्ने विभिन्न संचार माध्यममा समाचार प्रकाशन भएपछि मन्त्री यादवले छड्के अनुगमन गरेको जनाइएको छ।

श्रम कार्यालय बारे विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशन भएको तथा कार्यालयबाट सेवाग्राही पीडित भैरहेको गुनासो आउन थालेपछी प्रदेश सरकारको ध्यानाकर्षण भएको हो।

प्रदेशलाई भ्रष्टाचार बाट मुक्त गर्ने अभियानलाई सफल पार्न यो छड्के गरिएको कानुनमन्त्री यादवले बताएका छन्।अनुगमनका क्रममा गुनासो सुन्दै मन्त्री यादवले यदि कसैले काम गराउन घुस मागे सिधै आफूसँग भेटेर वा मोबाइलमा जानकारी गराउँन आग्रह समेत गरेको जनाइएको छ।

पीडित सेवाग्राहीले मन्त्री ज्ञानेन्द्र यादवसंग श्रम कार्यालयको गुनासो गर्दै काठमाडौंमा एकदिनमा हुने काम जिल्लामा एक हप्तासम्ममा पनि नहुने बताएका छन्।
भने अनुगमनका क्रममा मन्त्री यादवले कार्यालय प्रमुख मनोजकुमार यादवलाई सेवाग्राहीको काम छिट्टो गर्न तथा भिजाको टाइम भइसकेका सेवाग्राहीको काम जसरी भए पनि चाडै सक्न निर्देशन दिएका छन्।

यता कर्मचारी र विद्युतले सेवाग्राहीलाई परिरहेको समस्या चाडै समाधान हुने कार्यालय प्रमुख यादवले बताएका छन्। गत पुष १५ गते देखि सञ्‍चालनमा आएको श्रम तथा रोजगार कार्यालय जनकपुरधाममा श्रम स्वीकृति गर्न पुगेकाहरु बिचौलियाले गर्दा दिनहुँ दुख पाईरहेको जनगुनासो बढेको छ।

चैत १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्