मलेसियाको रोजगारी खुल्दै, मन्त्री बिष्टले मागे बिनाखर्च कामदार पठाउने सुनिश्चितता

काठमाडौँ– १० महिना पहिले बन्द भएको मलेसियाको रोजगारी खुला गर्ने तयारी भएको छ। नेपालले भनेअनुसार मलेसियाले स्वास्थ्य संस्थाको सिन्डिकेट खारेज गर्ने बाटो खुल्ला गरिदिएपछि मन्त्री बिष्ट नयाँ सम्झौता अनुसार मलेसियाको रोजगारी खुल्ला गर्ने निर्णयमा पुगेका हुन्।

तर, श्रममन्त्री बिष्टले शून्य लागतमा कामदार पठाउन व्यवसायीसँग सुनिश्चितता मागेका छन्। बुधबार मन्त्रालयमा भएको छलफलमा वैदेशिक रोजगार व्यवसायीलाई सिधै दूतावासमार्फत भिसाको प्रक्रिया अगाडि बढाउन र नयाँ श्रम समझदारी अनुसार श्रमिक पठाउन व्यवसायीलाई भनेका छन्।

व्यवसायीले पनि मन्त्री बिष्टसँग सम्झौता कार्यन्वयन गर्न तयार रहेको प्रतिवद्धता जनाएको मन्त्रालय श्रोतले जनाएको छ। छलफलमा सहभागी म्यानपावर व्यवसायीले पनि कलिङ भिसा लागेका कामदारको भिसाका लागि सिधै दूतावास मार्फत नै प्रक्रिया अगाडि बढाउने बताएका छन्।

कलिङ भिसा आएका श्रमिकहरुको भिसाका लागि नेपालस्थित मलेसियन दूतावासमा सिधै पेश गरिनेछ । यसअघि भिएलएनमार्फत भिसाको प्रक्रिया अगाडि बढाइन्थ्यो । तर १० महिना पहिले सबैखालका सिन्डिकेटको अन्त्ये तथा श्रमिक नठगिने गरी मात्रै रोजगारी खुल्ला गर्ने अडान लिएका थिए।

मन्त्री बिष्टको निरन्तरको अडानपछि मलेसिया एकपछि अर्को गर्दै नेपालको मुद्दामा आइपुगेको हो। नेपाली श्रमिकले मलेसिया जाँदा कुनै पनि शुल्क नतिर्ने गरी श्रम समझदारी भएको छ।

सुरुमा समझदारीको विरोध गरेका व्यवसायीहरु पनि हाल कार्यन्वयन गर्न तयार देखिएका छन्। बुधबार उनीहरुले मन्त्री बिष्ट समक्ष यही प्रतिवद्धता गरेर फर्किएका छन्।

बुधबारको छलफलसँगै १० महिना पहिले नै कलिङ भिसा लागेका नेपाली श्रमिक केही दिनमै मलेसिया उड्न पाउने भएका छन्।

नयाँ श्रमिक पठाउने बाटो पनि खुल्दै

बुधबार मात्रै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ मापदण्ड अनुसार स्वास्थ्य संस्थाहरुलाई सूचिकृत हुन सूचना जारी गरेको छ। मलेसियाले स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड पठाएपछि यसअघि रहेको वायोमेट्रिकको सिन्डिकेट सकिएको हो।

तर नयाँ मापदण्ड कस्तो हुने भन्ने बारेमा भने हालसम्म जानकारी गराइएको छैन। मन्त्रालय श्रोतका अनुसार विशेषज्ञसहितको टोलीले यसको लागि गृहकार्य गरिरहेको छ। नयाँ मापदण्ड केही दिनमै सार्वजनिक गर्ने तयारी छ।

स्वास्थ्य संस्थाको सूचिकरण भएपछि नयाँ कामदारले आफ्नै प्रदेशबाट पनि स्वास्थ्य परीक्षण गर्न सक्ने छन्। यो सँगै नयाँ रोजगारी खुल्ला हुनेछ। तर मलेसिया यस्तो गन्तव्य हो जहाँ नेपाली श्रमिकलाई शून्य लागतमा पठाउनु पर्नेछ। व्यवसायीले कुनै पनि शुल्क श्रमिकसँग लिन पाउने छैनन्।

श्रमिकको हितमा रहेको श्रम समझदारी पुर्ण रुपमा कार्यन्वयन गरेरै छाड्ने मन्त्री बिष्टको भनाई छ। बन्द हुनु पहिले मलेसिया श्रमिकको पहिलो रोजाइमा रहेको थियो। तर मलेसियाको रोजगारी बन्द भएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा पनि कमि आएको छ।
मलेसियासँग जस्तै अन्य केही देशसँग पनि शून्य लागततमा श्रमिक पठाउने गरी समझदारी गर्न नेपालले प्रस्ताव गरेको छ।

 

चैत १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्