बोइङ ७३७ म्याक्सको समस्या समाधान गरेको दाबी

विमान निर्माता अमेरिकी कम्पनी बोइङले दुर्घटनामा परेका बोइङ ७३७ म्याक्स विमानका विवादास्पद कन्ट्रोल सिस्टम (नियन्त्रण प्रणाली) परिवर्तन गरिएको जनाएको छ ।

पाँच महिनाको अवधिमा ७३७ म्यास मोडलका दुई विमान दुर्घटना परे । मार्च १० मा इथियोपियामा भएको विमान दुर्घटनामा १५७ जनाको ज्यान गएको थियो भने पाँच महिनाअघि इन्डोनेसियामा लायन एयरको सोही मोडलको विमान दुर्घटनामा १८९ जनाको ज्यान गएको थियो ।

सन् २०१७ मा व्यवसायिक प्रयोगमा आएको विमानको दुर्घटना उस्तै प्रकृतिको देखिएपछि अहिले बोइङले नै विश्वभर रहेका बोइङ ७३७ म्याक्स सिरिजका विमान ग्राउण्डेड गरेको छ ।

बोइङले विवादास्पद कन्ट्रोल सिस्टम परिवर्तन गरेको जनाए पनि ग्राण्डेड भएका विमानको उडान कहिलेदेखि सुचारु हुने भन्ने यकिन भएको छैन । अनुसन्धानकर्ताले दुर्घटनाको कारण अझै थाहा पाएका छैनन् ।

बोइङको कन्ट्रोल सिस्टमको अपग्रेडको क्रममा विशिष्ट प्रकृतिको खतराको सूचना दिने प्रणाली विमानमा जडान गर्ने छ । यसअघि वैकल्पिक रहेको यो प्रणाली अब अनिवार्य हुने भएको हो ।

दुर्घटनामा परेका दुवै विमानमा यो प्रणाली थिएन । बोइङले अब यसका लागि कुनै पनि किसिमले थप शूल्क नलिइने जनाएको छ । दुई दुर्घटनासँग सम्बन्धित सफ्टवेयरको पनि अपग्रेड गरिएको बोइङले जनाएको छ ।

चैत १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्