जनकपुरमा गराइएको बम विष्फोट। फाइल तस्बिर

जनकपुर– जनकपुर बमकाण्ड मुद्दामा हिरासतमा रहेका पूर्वमन्त्री तथा संजय साह सहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। धनुषा जिल्ला अदालतमा लगातार ३ दिनको बहस पश्चात बिहीबार न्यायाधीश राजेश कुमार कटुवालको इजलासले बमकाण्ड संलग्न भएको ठहर गर्दै संजय साहसहित सात जनालाई जन्म कैदको फैसला सुनाएको हो।

साहत पाँच वर्षदेखि पुर्पक्ष थुनामा थिए।

पुर्पक्षका थुनामा रहेका तराई जनतान्त्रिक पार्टी मधेश नामक मूमिगत संगठनका अध्यक्ष मुकेश चौधरी, ओमप्रकाश यादव, राजनमुक्ती भन्ने रंजित झा, मुकेश कर्ण, जयप्रकास चौधरी, सुरेश कुमार कर्ण, मुकेश कुमार कर्ण र दिपेन्द्र झालाई समेत जन्मकैदको फैसला सुनाइएको छ । जन्मकैद सजाय सुनाइएका सबै २० वर्ष जेल बस्नुपर्छ।

घटनामा संलग्न ओमप्रकाश यादवलाई भने १० वर्ष मात्र कैद गरिएको जिल्ला अदालतका श्रेष्तेदार राधाकान्त झाले जानकारी दिए । यस्तै, सुजितकुमार पाण्डलाई भने अदालतले सफाइ दिएको छ ।

घटनामा संलग्न जितेन्द्रकुमार कर्ण, आदित्यदेव भन्ने बाबुल, फुलकुमार बहरखेर यादव र नारायण भन्ने उमेश तिवारी भने फरार रहेका छन्।

२०६९ साल बैशाख १८ गते जनकपुरको रामानन्दचोकमा पाँचजनाको ज्यान जानेगरी भएको बमकाण्डको झन्डै ७ वर्षपछि मुद्दाको अन्तिम सुनुवाइ आइतबारदेखि सुरु भएको थियो ।

जनकपुर बमकाण्ड


२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले राखेको शान्तिपूर्ण धर्ना कार्यक्रममा बम विस्फोट हुँदा चारजनाको घटना स्थलमै ज्यान गएको थियो भने एकजनाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो ।

बम विस्फोटमा ३८ जना घाइते भएका थिए । धर्नामा बसेकाहरुलाई लक्षित गरी गराइको बम विस्फोटमा परी चर्चित रंगकर्मी रञ्जु झाका साथै स्थानीय झगरु मण्डल, दिपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो।

पूर्वराज्यमन्त्री साह २०६४ सालको चुनावमा विजय गच्छदार नेतृत्वका तत्कालीन फोरम लोकतान्त्रिक पार्टीबाट धनुषाको क्षेत्र नं. ४ बाट विजयी भएका थिए। यसैगरी, दोश्रो संविधानसभा चुनावमा राजेन्द्र महतो नेतृत्व सद्भावना पार्टीको तर्फबाट धनुषा क्षेत्र नं. ३ बाट विजयी भएका थिए।

टेप रेर्कड सार्वजनिकपछि साह पक्राउ


भूमिगत समूहमा सक्रिय रहेका मुकेश चौधरीले बम विस्फोट गराउनबारे तत्कालीन सांसद संजयसँग भएको कुराकानीको टेप सार्वजनिक गरेपछि घटनामा उनको नाम आएको थियो ।

घटनाका नाइके भनिएका मुकेश चौधरी पक्राउ परेपछि तत्कालीन सांसद साहको समेत पोल खुलेको थियो । चौधरी लगत्तै पक्राउ परेका ओमप्रकाश यादवले पनि जीवनाथ चौधरीको हत्याका लागि रामानन्द चोकमा संजयले विस्फोट गराउन लगाएको बयान दिएका थिए ।

त्यस्तै, ओमप्रकाश यादव पक्राउ परेको सूचना पाए लगत्तै तत्कालीन सांसद संजय कोठामै मोबाइल छाडेर काठमाडौं छोडेका थिए भने आफ्ना सहयोगीहरु मार्फत जनकपुरमा सम्पर्क गरिरहदाँ संजयलाई विस्फोट भएको दुई वर्षपछि प्रहरीले दिल्लीबाट पक्राउ गरेको थियो।

तत्कालीन प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्याल संयोजकत्वको समितिले प्रारम्भिक अध्ययनपछि अञ्चल प्रहरी कार्यालय जनकपुरमा गरेको पत्रकार सम्मेलनमा विस्फोटमा राजनीतिक संलग्नता रहेको आशंका व्यक्त गरेका थिए ।

पछि सरुवा भएर जनकपुर पुगेका प्रहरी उपरीक्षक उत्तम सुवेदीले अर्याल समितिमा सदस्य रहेका तत्कालीन प्रहरी निरीक्षक गोविन्द पुरीको नेतृत्वमा विस्फोटन घटना सुल्झाउन दर्जनौं अपरेसन नै चलाएका थिए ।

चैत १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्