लगानी सम्मेलनको पहिलो दिन: ऊर्जा क्षेत्रकै चर्चा बढी

सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओली ।

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाल लगानी सम्मेलन २०१९ सबैभन्दा बढी चर्चा र चासो जलविद्युत् क्षेत्रको भएको छ । शनिबार सकिने सम्मेलनमा उद्घाटनसहित ६ वटा सेसन भए सबैभन्दा बढी चर्चा र लगानीकर्ताहरु उर्जा क्षेत्रमै आकर्षित भए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा. युवराज खतिवडा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र पूर्वअर्थमन्त्री डा रामशरण महतलेसमेत ऊर्जा क्षेत्रलाई नै समृद्धिको आधारका रुपमा विशेष जोड दिँदै लगानी गर्न सुझाव दिए ।

सम्मेलनमा ३७ देशबाट आएका ६०० भन्दा बढी लगानी कर्ताको रुचिको विषय पनि ऊर्जामै देखिएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।

नेपालको जलऊर्जा दक्षिण एशियाको समृद्धिका लागि महत्वपूर्ण आधारका रुपवमा लिनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । सम्मेलनमा सरकारका तर्फबाट आठ ठूला परियोजना र निजी क्षेत्रले १६ आयोजना ‘शो–केश’ का रुपमा राखिएका छन् । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावट विद्युन् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रलाई जोड दिएर सहज कानूनी संरचना तयार पारिएको, २०० मेगावाटभन्दा माथिका आयोजनालाई सहजीकरणका लागि लगानी बोर्ड मातहत लगिएको जानकारी ।

त्यस्तै ऊर्जा सेसनमा ऊर्जामन्त्री वर्षमान पुनले क्षेत्रीय बजारमा नेपालको बिजुली बिक्रीका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगन (सार्क सदस्य मुलुकबीच साझा समझदारी भएको, बिम्स्टेक सदस्य राष्ट्रबीच संयुक्त ग्रीड बनाउने समझदारीमा हस्ताक्षर भएकाले पनि सहज वातावरण जिकिर गरे ।

सरकारले चीन, भारत र बंगलादेशसँग ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारी गरिसकेको छ । बंगलादेशले तत्कालै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावट विद्युत् खरीद गर्ने निर्णय गरिसकेको छ ।

सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने तयारी भइरहेको सम्मेलनमा सहभागी बंगलादेशी प्रतिनिधिले बताए ।

सरकारले आगामी तीन वर्षमा तीन हजार र पाँच वर्षमा पाँच हजार मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको लगानीकर्ताहरुलाई जानकारी गरायो ।

स्वदेशी लगानीकर्ताले मात्रै तीन हजार ५०० मेगावट क्षमताका जलविद्युन् आयोजना निर्माणाधीन रहेको र विदेशी लगानीकर्तालाई ठूला आयोजना दिन सरकार तयार हरेको ऊर्जामन्त्री पुनले बताए ।

स्वदेशी श्रम र पूँजीले मात्रै ऊर्जा क्षेत्रमा लक्षित उद्देश्य हासिल गर्न ढिलाइ हुने हुँदा नेपालले वैदेशिक लगानी भित्र्याउन चाहेका अर्थमन्त्री डा खतिवडाको भनाइ छ ।

पूर्वअर्थमन्त्री डा महतले नेपाल स्वच्छ ऊर्जाको पावर हाउस भन्दै सम्मेलनमा सहभागी लगानीकर्ता तथा विज्ञलाई लगानीका लागि आग्रह गरे ।

शनिबार बेलुका सकिने सम्मेलनका लागि सरकारले ३७ खर्बका ७७ वटा आयोजना प्रस्ताव गरेको छ । लगानी कर्ताहरुले आफूले बनाउन चाहेको आयोजनाको घोषणा गर्नेछन् । (राससको सहयोगमा)

चैत १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्