हलिउड अभिनेता जर्ज कुलुनीले किन गरे लग्जरी होटल बहिष्कार गर्न आग्रह?

हलिउड अभिनेता जर्ज कुलुनीले ब्रुनाइका ९ वटा लग्जरी होडल बहिष्कार गर्न आह्वान गरेका छन् । ब्रुनाइले समलिङ्गी यौन सम्बन्धका लागि मृत्युदण्डको सजाय लागु गर्ने भएपछि अभिनेता कुलुनीले ब्रुनाईसँग जोडिएका ९ वटा लग्जरी होटल बहिष्कार गर्न आग्रह गरेका हुन् ।

आउँदो अप्रिल ३ देखि ब्रुनाईमा समलिङ्गी यौन सम्बन्ध कायम गर्नेहरुलाई मृत्युदण्ड दिने कानुन लागु हुँदैछ । सन् २०१४ मा ब्रुनाइले इस्लामिक शरिया कानुन अपनाएको थियो । व्यापक विरोधका बाबजुद ब्रुनाई शरिया कानुन अपनाउने पहिलो पूर्वी एसियाली देश बनेको थियो ।

नयाँ कानुनले मानवअधिकारको गम्भीर उल्लंघन गरेको कुलुनीले बताएका छन् । अभिनेता कुलुनीले मनोरञ्जन सम्बन्धी वेबसाइट डेडलाइनका लागि लेखेको लेखमा ‘ब्रुनाई राजसंस्था भएको देश हो र कुनै पनि बहिष्कारले केही न केही प्रभाव पर्नेछ र कानुन परिवर्तन गर्न सहयोग मिल्नेछ’ भनेर लेखेका छन् ।

मानवअधिकारको गम्भीर उल्लंघन गर्ने देश वा ठाउँमा पैसा खर्च गर्न नहुने उनले बताएका छन् । अमेरिका, बेलायत, फ्रान्स तथा इटालीमा रहेका डोर्चेस्टर होटलमा ब्रुनाईका लगानीकर्ताको लगानी रहेको कुलुनीले बताएका छन् ।

सन् २०१४ मा एलन डिजेनरस र स्टिफन फ्रायीले यी समलिंगी विरोधी कानुनको विरोधमा यी होटल बहिष्कार गर्न आग्रह गरेका थिए ।

चैत १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्