मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

मेक्सिकोले अवैध रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्नका लागि थप पहल नगरेमा सीमा बन्द गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् ।

आप्रवासीप्रति कठोर देखिँदै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि आपतकाल लगाउन कंग्रेसमा केही हप्ताअघि भिटो प्रयोग गरेका थिए । अहिले आएर उनले सीमा नै बन्द गर्न सक्ने बताएका हुन् ।

सीमा बन्द गर्दा अवैध आप्रवासीको अमेरिका प्रवेश रोकिने ट्रम्पको भनाई छ । तर यसले अर्बौँ डलरको व्यापारमा प्रभाव पर्नेछ । आश्रयको खोजीमा आप्रवासीहरु मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने क्रम जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चेतावनी आएको हो ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आफू कुनै पनि किसिमको टकराव वा मतभेदको पक्षमा नरहेको बताएका छन् । मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डले ट्वीटमा मेक्सिको अमेरिकाको उत्कृष्ट एवम् असल छिमेकी रहेकाले चुनौतिका आधारमा कुनै पनि काम नगर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले स्थानीय समय अनुसार शुक्रबार पत्रकारसँग आउँदो हप्ता सीमा बन्द गरिने सम्भावना रहेको र आफ्ना लागि त्यो उत्तम विकल्प रहेको बताए । मेक्सिकोले अवैध रुपमा आउने मानिसलाई रोक्न सक्ने भए पनि उसले त्यसो नगरेको आरोप ट्रम्पको छ ।

यस्तै राष्ट्रपति ट्रम्पले त्यसपछि गरेका ट्वीटमा लागुऔषध तस्करीसहितका क्षेत्रमा मेक्सिकोले अमेरिकाको ठूलो अर्थतन्त्र लगेका भन्दै सीमा बन्द गर्नु नै उत्तम रहेको उल्लेख गरेका थिए ।

चैत १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्