लगानी सम्मेलनको अन्तिम दिन

विदेशी व्यवसायीको निष्कर्ष: लगानी बढाउन सरकारले संरक्षण र सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ

काठमाडौँ – लगानी सम्मेलनको दोस्रो दिनको दोस्रो सेशनमा ६ जना प्रतिनिधिले आफ्नो मुलुकको आर्थिक विकास, लगानी र उपलब्धिबारे आ-आफ्नो अनुभव प्रस्तुत गरेका छन्। उनीहरुको अनुभव प्रस्तुतिको निष्कर्ष छ,‘ लगानी बढाउन सरकारले त्यसको संरक्षण र सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ।’

शनिबारको पहिलो सेशनमा यातायात लगायत विकासका पूर्वाधारबारे नेपाली लगानीकर्ता र नेपालमा लगानी गरिरहेका विदेशी लगानीकर्ताले आ-आफ्नो लगानीको अनुभव प्रस्तुत गरेका थिए।

दोस्रो सेशनमा अमेरिकाबाट प्रतिनिधित्व गर्ने इकोनोमिक्स एण्ड प्राइभेट सेक्टर डेभलपमेन्ट, इन्टरनेशनल फाइनान्स कोप्रेशनका उपाध्यक्ष हेम्स पिटरले कुनै पनि मुलुकको स्थिरताले सबै किसिमको विकासका लागि लगानी सम्भव हुने बताएका थिए। उनले त्यसका लागि सरकारी र निजी क्षेत्रको सहकार्यले अर्थ राख्‍ने आफ्नो अनुभव प्रस्तुत गरेका थिए।

आफ्नो मुलुक अमेरिकाले २०३० मा लिएको उद्देश्य पूरा गर्न पर्यटन, स्वास्थ्य, सूचना र प्रविधिको क्षेत्रमा निकै ठूलो लगानी गरेको बताए। यस्तै फरेन टेड्र मिनिस्ट्र अफ इकोनोमि युएईका अन्डर सेक्रेटरी एचई, अव्दुल्ला अल सलीइहीले आफ्नो मुलुकले २० वर्ष यता तिव्र गतिमा विकास गरेको र खासगरी विदेसी लगानीकर्तालाई प्रोत्साहित गरेको जानकारी गराए।

फोर्ट म्यानेजमेन्ट, हवाई उढान, म्यानुफ्याचेरिङ, कृषि, खाद्य सुरक्षा, रियल स्ट्रेट लगायतमा ठूलो लगानी गरेको र त्यसको उपलब्धि हासिल भएको उनको भनाई छ।

उनका अनुसार लगानीलाई संरक्षण चाहिन्छ र त्यसमा सरकारको हात हुनुपर्छ । उनले नेपाल र युएईबीच लगानीको सहकार्यमा आफूहरु तयार रहेको समेत सुनाए।

उनले भने,‘हामी यहाँ पनि लगानीको सम्भावना खोजिरहेका छौँ। हामी रणनीतिक लगानी परियोजना खोजिरहेका छौँ। हामीले केही परियोजना छनोट गरेका छौँ र सम्झौताका लागि राजदूतावासले तयारी समेत गरेको छ।’

नेपालका लागि साउथ अफ्रिकाका राजदूत सादिक जाफरले आफ्नो मुलुक लामो समय राजनीति संक्रमणकालमा बितेपनि अहिले अपत्यारिलो आर्थिक विकासको उपलब्धि हासिल गरेको बताए। आर्थिक विकासमा लगानीलाई ध्यान दिएको र त्यसमा सबैभन्द बढी सरकारकै चासो रहेको उनले बताए।

उनले भने,‘हाम्रो देश जनसंख्यामा सानो छ तर युवाहरुमा जोश र जाँगर उस्तै छ । सरकारले स्रोत साधन जुटाइदिएको छ। त्यसैले पनि होला बाहिरी मुलुकको चासो हाम्रोमा लागनीका लागि झन बढेको छ। ’

लगानीका लागि व्यवसायीले भविष्यको सुनिश्चितता हेर्ने उनको भनाई छ । उनका अनुसार साउथ अफ्रिकाले पछिल्लो समय बैंकिङ क्षेत्रलाई पनि केन्द्रमा राखेर लगानी गरिरहेको छ।

यस्तै एसिया प्रशान्त क्षेत्रका लागि सार्वभौम मापनका प्रमुख स्टेफन स्वार्जले लगानी मुलुक कस्नो अवस्थामा छ भन्नेमा लगानी भर पर्ने बताए।

देशको मानव विकासको सूचकांक, बैकिङ प्रणाली, राजनीतिक स्थिरिता, आर्थिक स्रोत साधन र सरकारको सक्रियताले लगानीमा भर पर्ने उनको भनाई छ। उनले भ्रष्टचार, अनियमितता, कुशासनले लगानीलाई सबैभन्दा धेरै प्रभाव पार्ने बताए।

मलेसियन इन्भेस्टमेन्ट डेभलपमेन्ट अथोरोटी मिडाका कार्यकारी निर्देशक शीभासूर्यमूर्ति सुन्दरा राजाले भने मलेसियाले विकासका लागि विकास मात्रै हेरेको भन्दै लगानीका लागि मूख्य आधार त्यसको प्रवर्द्धन र सुरक्षा रहेको बताए।

उनको दावी थियो,‘ मलेसियाको सूचकांक हेरेर अब अरु मुलुकले पनि काम गर्ने छन् जो विकासमा अग्रसर छन्। हामीले सिंगापुरलाई हेरेका छौँ केही हदसम्म।’

सम्‍मेलनको अन्तिम विषय ‘विकासका पूर्वाधारहरुमा लगानी’ बारेको छलफलपछि  निष्कर्ष सुनाउने र विभिन्न १२ वटा परियोजना समझदारी पत्रमा शनिबार हस्ताक्षर हुने भएको छ।

सम्मेलनमा ३९ मुलुकका का ७ सय ३५ जना प्रतिनिधिले भाग लिएका छन्।

चैत १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्