राष्ट्रिय टिममा निराश बनेका मेस्सी बार्सिलोनामा फेरि चम्किए

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोना विजयी भएको छ । अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो खेलमा बार्सिलोनाले स्पानियोललाई २–० ले हराएको हो ।

गएको वर्ष रुसमा भएको विश्वकप फुटबलमा अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएपछि ९ महिना राष्ट्रिय टिमबाट बाहिर रहेका लियोनल मेस्सी अघिल्लो हप्ता भेनेजुएलासँगको मैत्रीपूर्ण खेलबाट मैदान फर्किए । त्यो खेलमा ३–१ ले अर्जेन्टिना पराजित हुँदा मेस्सी चोटग्रस्त भएका थिए ।

त्यसपछि मोरक्कोसँगको खेलमा मैदान बाहिर रहेका मेस्सी स्पानियोलसँगको खेलमा मैदानमा हुने वा नहुनेमा शंका थियो । तर मेस्सीले क्लब प्रतिस्पर्धामा गर्दै आएको राम्रो प्रदर्शन कायम राखे ।

उनले शनिबार राति घरेलु मैदानमा भएको खेलमा चोटले असर गरेको कुनै संकेत देखाएनन् । बार्सिलोनाको जितमा दुवै गोल मेस्सीले नै गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ७१ औँ मिनेटमा मेस्सीले पहिलो गोल गरे । उनले ८९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना २–० ले विजयी भयो ।

मेस्सीले यो सिजन ला लिगामा ३१ गोल गरेका छन् ।

जितपछि शीर्षस्थानको बार्सिलोनाको २९ खेलबाट ६९ अंक भएको छ । शनिबार राति नै भएको खेलमा एलाभेसलाई ४–० ले हराएको दोस्रो स्थानको एथ्लेटिको मड्रिडको २९ खेलबाट ५९ अंक छ ।

अरु खेलमा लेगानेसले गेटाफेलाई २–० तथा सेल्टा डी भिगोले भिल्लारियललाई ३–२ ले हराएका छन् ।

चैत १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्