प्रदेश सरकारको दुई करोड लगानीमा लमहीमा ‘ट्रमा सेन्टर’ बन्ने

दाङ– पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका घाईतेहरुको उपचारलाई लक्षित गरेर प्रदेश ५ सरकारको दुई करोडकाे लगानीमा दाङको लमहीमा प्रादेशिक ट्रमा सेन्टर स्थापना हुने भएको छ।
चालु आर्थिक बर्षमा प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा लमहीमा ट्रमा सेन्टर स्थापना गर्ने उल्लेख गरेको थियो। जसका लागि प्रदेश ५ सरकारले दुई करोड बजेट समेत विनियोजन गरेको छ। यो बजेटबाट डिपीआर सहित ट्रमा सेन्टर स्थापनाको आधार तय गरिने छ।
प्रदेश सरकारले राजमार्गमा हुने सवारी दुर्घटनाका घाईतेको उपचारसहित अन्य प्राकृतिक विपत्तिमा परेर घाईते भएकाहरुको उपचारलाई ध्यानमा राखेर ट्रमा सेन्टर स्थापना गर्न लागिएको प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए।
ट्रमा सेन्टर चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई जीवन दिने ठाउँ बन्ने लमही अस्पतालका निमित्त प्रमुख डाक्टर सरोन दर्नालले बताए। ट्रमा सेन्टरमा शल्यकृयासहितको आईसियू सेवा लगायत अन्य विशेषज्ञ उपचार सेवा उपलब्ध हुनेछ।

आईतबार लमहीमा ट्रमा सेन्टर स्थापनाको बिषयमा सरोकारवाला निकायकासंग छलफल भएको छ। प्रदेश सभा सदस्य, प्रदेश सरकार स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालयका अधिकारीसहित स्थानिय सरोकार राख्ने संघ संस्थाका पदाधिकारीहरुको बिचमा भएको छलफलले हाल उद्यमशिल बहुउद्देश्यीय सहकारी संस्थाले प्रयोग गर्दै आईरहेको ठाउँमा ट्रमा सेन्टर स्थापनाको गर्ने सहमति बनेको हो।
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा प्रदेश सभा सदस्य रेवतीरमण शर्माले ट्रमा सेन्टर स्थापनाको लागि प्रकृया अघि बढेकोप्रति स्वागत गर्दै छिटो सेवा सञ्चालन गर्ने तर्फ ध्यान दिन आग्रह गरे।
कार्यक्रममा प्रदेश सभा सदस्य ईन्द्रजीत थारु, दामा शर्मा, सरस्वती गौतमले प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्न सबैले सहयोग गर्नुपर्ने बताए। छलफलमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिनेश चापागाई, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवाली, गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी उपशाखा लालमटीयाका सभापति गंगाराम भट्टराई लगायतले भाग लिएका थिए।