राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जिते १५ हजार, राष्ट्रिय कीर्तिमान बनाए २५ हजार !

नेपालगञ्ज–  आठौं राष्ट्रिय खेलकुदमा पदक विजेतालाई दिइने पुरस्कार राशी विगतको तुलनामा बढाइएको छ।  प्रतियोगिता चैत २७ गतेदेखि शुरु हुने छ। बैशाख ५ गते उद्घाटन हुने प्रतियोगिता त्यसको ६ दिनपछि समापन हुने तालिका छ।

राखेपका सदस्य सचिव केशवकुमार बिष्टले आइतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै आठौंमा स्वर्ण पदक जित्ने खेलाडीले १५ हजार रुपैयाँ पाउने जानकारी दिए।  सातौंमा यो पुरस्कार राशी दश हजार थियो।

सामुहिक स्पर्धामा स्वर्ण विजेताले सात हजार रुपैयाँ पाउनेछन्। सातौमा  पाँच हजार थियो । यसैगरि  राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई लाई २५ हजार दिने निर्णय भएको विष्टले जानकारी दिए।

आठौंमा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । आसन्न राष्ट्रिय खेलकुदमा ५ हजार २ सय ११ खेलाडी सहभागि हुनेछन्। त्यसमा पुरुष दुई हजार ८ सय २५ र महिला खेलाडी  दुई हजार तीन सय ८६ जना हुन्छन् ।  २४ जना गैह्र आवासीय नेपाली- एनआरएन खेलाडीले आठौंमा सहभागिता जनाउने छन् ।

आठौँ खेलकुदमा ३५ वटा खेल समावेश छन्। तीमध्ये १८ खेल बाँकेमा हुनेछन् । अरु खेल बर्दिया, दाङ, कपिलबस्तु र रुपन्देहीमा हुने  छ। गल्फ काठमाडौंमा, प्याराग्लाइडिङ पोखरा र स्क्वास ललितपुरमा हुने सदस्य सचिव विष्टले जानकारी दिए। सदस्य सचिव विष्टले चैत्र २७ गतेसम्म अधिकांश खेल स्थल बनिसक्ने बताए । ‘केही बन्दै गर्छन्, त्यसलाई खेल्न मिल्ने बनाउँछौं । प्रतियोगिता पूरा हुन्छन्, सदस्य सचिव विष्टले भने, समग्रमा भन्दा ९० प्रतिशत भौतिक पूर्वाधार सम्पन्न भइसकेका छन् ’, उनले भने।

चैत १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्