हावाहुरीबारे मौसमविद

किन चल्यो एक्कासी आँधी जस्तो हावाहुरी ?

फाइल तस्बिर

काठमाडौँ – देशको मध्य भू–केन्द्रित भएर अचानक मान्छे नै उठाउने गरि आएको हावाहुरीको कारण स्पष्ट नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बेलुका बारा तथा पर्सामा केन्द्रितभइ अचानक आएको हावाहुरीका कारण कम्तिमा २७ जनाको ज्यान गएको छ ।

यसको कारण स्पष्ट नभएको र अध्ययनको विषय रहेको मौसमविद मिनकुमार अर्यालले बताएका छन् । तर स्थानीय वायुको प्रभाव र भारतको मध्य प्रदेशतिर बनेको न्यूनचापिय क्षेत्रका कारण आइतबार बेलुका मध्य तराई केन्द्रित भएर हावाहुरी चलेको हुन सक्ने मौसमविद अर्यालले बताए ।

उनले देश सञ्चारसँग भने, ‘आइतबार बेलुका एकै ठाउँमा केन्द्रित भएर मान्छे नै उठाउने हुरी चल्यो । हामीले मध्य क्षेत्रमा हावाहुरी चल्ने तथा मेघ गर्जनसहित पानी पर्ने सम्भावना देखेका थियौँ । तर यस्तो गम्भीर घालको हावाहुरीको आँकलन थिएन ।’

उनले अघि भने, ‘प्रि–मनसुनको समयमा स्थानीय वायुको प्रभाव र अरु प्रणालीका कारण मौसमी गतिविधि परिवर्तन भइरहेको हुन्छ र आँकलन गर्न कठिन हुन्छ । तर बारा तथा पर्साको अनुभव नयाँ रह्यो ।’

आइतबार बेलुका आफूहरुले मौसमी गतिविधि निरन्तर अवलोक गरिहेको र नाउकास्ट–जसमा १० देखि १५ मिनेटको मौसमी पूर्वानुमान हुन्छ, त्यसमा मेघ गर्जन र हुरीबतासको सम्भावना देखिएको मौसमविद अर्यालले बताए । तर यस्तो खालको ठूलो हावाहुरी एकै ठाउँ केन्द्रित भएर तत्कालै आउँछ भन्ने आँकलन गर्न नसकिएको उनले बताए ।

आइतबार साँझ आएको हावाहुरीले घर भत्काएपछि ट्याक्टरमा चढेर सुरक्षित स्थानतर्फ जाँदै स्थानीयहरु । हावाहुरीले कम्तिमा २४ जनाको ज्‍यान लिएको छ भने सयौ स्थानीय घाइते भएका छन्। तस्बिर-राम मण्डल/देश सञ्‍चार

आइतबार बेलुका बारा तथा पर्सामा चलेको हावाहुरीको प्रकृति केही हदसम्म साइक्लोनिक स्ट्रोम (टोरनाडो) सँग मिल्दोजुल्दो रहेको तर नेपाल जस्तो देशमा टोरनाडोको सम्भावना नरहेकाले अध्ययनको खाँचो रहेको उनले बताए । तराई र नजिकै चुरे रहेकाले दुई सयदेखि पाँच सय मिटर माथिसम्मको हावाको अध्ययन गरेर मात्रै कारण थाहा हुन सक्ने उनको भनाई छ । यो अध्ययनले भविष्यमा यस्तै खालको क्षति हुनबाट जागाउन सकिने मौसमविदको भनाई छ ।

मौसमविद अर्यालका अनुसार सोमबार बिहान सो क्षेत्रमा मौसम सामान्य हुने देखिएको छ । तर बिहान १०–११ बजेदेखि स्थानीय वायुको प्रभावले बादल बन्न थाल्ने र बेलुका तिर मेघ गर्जनसहित पानी पर्ने तथा हावाहुरी चल्ने सम्भावना रहेको छ । सोमबार पनि विशेष गरि तराई क्षेत्रमा हावाहुरीबाट जोगिन सजग हुनु पर्ने उनले बताएका छन् ।

चैत १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्