
काठमाडौँ– बालकोटको एक रुखको तस्बिर ‘एशियन ट्रि अफ द एयर २०१९’ बाट पुरस्कृत भएको छ। बालकोट बस्ने बिनिता कार्कीले खिचेको यो तस्बिरले पुरस्कार जितेको हो।
तिब्र गतिमा बढ्दै गरेको शहरीकरणको बिचमा प्रकृतिको श्रेष्ठता देखाउने तस्बिरहरुसँग यो तस्बिरले प्रतिस्पर्धा गरेको थियो। यो प्रतियोगितामा मलेशिया, सिंगापुर, नेपाल, भारत, श्रीलंका फिलिपिन्स अनि ब्रुनाईका रुखका तस्बिरहरु थिए।
यो तस्बिर क्रियसन नेपालले आयोजना गरेको ‘ट्रि अफ द एयर नेपाल, २०१९’ मा दोस्रो भएको थियो। तस्बिर खिच्ने कार्की मार्च २२ मा राजिव खरेल र सञ्जु रावतसँग पुरस्कृत भएकी थिइन् । कार्यक्रम नेपाल टुरिजम बोर्डमा क्रियसन नेपालकी सद्भावना दूत निशा अधिकारी मल्लको सहभागितामा भएको थियो।
‘अहिले भईरहेको तिब्र शहरीकरणमा यस्ता रुखले दुख अनि शक्ति दुवै प्रदर्शित गर्ने भाव व्यक्त गरेको छ।’ विजेता कार्कीले भनिन्, ‘जैविक विविधतालाई आउँदो पुस्तासम्म संरक्षण गरेर राख्न यो प्रतियोगीताले सहयोग गर्ने मैले अपेक्षा लिएको छु।’
यो प्रतियोगिता सन् २०११ मा चेक रिपब्लिकबाट सुरु भएको थियो। तिब्र रुपमा शहरीकरण भईरहँदा रुखको महत्व बुझाउनको लागि यो प्रतियोगिता सुरु भएको थियो। यस्तै उद्देश्य सहित एशियामा सन् २०१७ मा यो प्रतियोगिता शुरु भएको थियो। नेपालेले सन् २०१७ र १ं२०१८ मा यो प्रतियोगिता जितेको थियो। गएको वर्ष अशिन पौडेलले खिचेको तस्बिर ‘द लोन सरर्भाइबर’ प्रथम भएको थियो।