जिएमसी प्रकरणः जनही १७ लाख धरौटी बुझाएर दुई जना रिहा

पोखरा – दुई दिनसम्मको निरन्तर थुनछेक बहस पछि कास्की जिल्ला अदालतले थुनामा रहेका गण्डकी मेडिकल कलेजका २ जनालाई जनही १७ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्ने आदेश दिएको छ ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको आरोपमा पक्राउ परेका जिएमसीका पूर्व सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्माले बैंक ग्यारेन्टी मार्फत धरौटी रकम बुझाएर रिहा भएको अदालतका स्रेस्तेदार लोकनाथ पराजुललीले जानकारी दिए ।

कलेज सञ्चालक खुमा अर्याल सहित ११ जना विरुद्ध दर्ता भएको ठगि उजुरी आधारमा फागुन २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्व सिइओ खनाल र परीक्षा नियन्त्रक शर्मा पक्राउ परेका थिए । अध्यक्ष अर्याल सहित अन्य ९ जना भने हालसम्म फरार छन् ।

आइतबार र सोमबारको थुनछेक बहस सकिएपछि न्यायाधीस लालकाजी श्रेष्ठको इजलासले धरौटी बुझाएर छाड्ने आदेश दिएको हो।

‘मिसिल संलग्न कागजातबाट भौचरभन्दा बाहेक चिट दिएर रुपैयाँ लिएको भनी चिटहरु मिसिल संलग्न रहेको अन्य शुल्क लिन पाउने गरी कुनै निकायबाट निर्णय भई अख्तियारी प्राप्त भएको नदेखिएको, किटानी जाहेरी परेको समेतका मिसिल संलग्न तत्काल प्राप्त कागजातहरुबाट यी प्रतिवादी हाल कसुरदार होइन रहेनछन भन्न मिलेन’ आदेशमा भनिएको छ।

चैत १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्