सम्पादकीय

भीषण आँधीबेहरीपछिको दायित्व

बारा र पर्सामा आइतबार राति आएको भीषण आँधीबेहरी राष्ट्रिय संकट र श्रृङखलाबद्ध रुपमा पुनरावृत्तिको चेतावनीका रुपमा आएको छ। प्रकृतिसँगको सहअस्तित्वले नै प्रलयलाई टाढा राख्छ भन्ने पूर्वीय दर्शनको मान्यता सरकार, नाफामा आशक्त प्रभावशाली व्यक्ति र संस्थासँगै स्वार्थी नागरिकहरुबाट हुँदै आएको मुलुकमा प्रकृतिका प्रतिस्पर्धी र शत्रुपक्षका रुपमा मानव समाज प्रस्तुत भएको छ।

बारा र पर्सामा उत्पन्न प्राकृतिक प्रकोपको वास्तविक कारण थाहा भइसकेको छैन। तर पनि मानवीय पक्ष दोषरहित छ भन्न सकिने अवस्था छैन। मौसमबारे अग्रिम चेतावनी दिने पद्धति सुरुवात नहुँदा क्षतिलाई न्यून गर्न सकिएन। सम्भवतः २९ जनाको अकाल मृत्यु र करोडौँको सम्पत्ति क्षति पछि सरकारले तत्काल सोच्नु पर्ने विषय हो त्यो।

तर, यो घटनाले एकातिर सन्तुलित प्रकृति संरक्षण र जैविक भूविविधता सुनिश्चितताका लागि दीर्घकालीन रणनीतिसँगै विकासका नाममा भइरहेका भ्रष्टाचार र विनाशमा नियन्त्रणको आवश्यकता औल्याउँछ भने अर्काेतिर तत्कालीन उद्धार, राहत र पुनर्स्थापनामा बढि मानवीय सम्वेदनशीलता पनि त्यत्तिकै आवश्यक छ ।

देश सञ्चारका फोटो पत्रकार बर्षा शाहले घटनास्थलबाट पठाएका हृदय विदारक चित्रहरुले प्रकृतिको क्रूरता देखाउँछन् । तर, त्यो नाजायज दोहनविरुद्ध प्रकृतिको आक्रोशपूर्ण प्रतिक्रिया पनि त हो नि। भीमदासले पत्नी रुनादेवीसँगै आमा मतिसरीदेवी पनि गुमाए आँधीबेहरीमा।

गोरखामा मजदुरी गरिरहेका राम सुरत दासको दुर्वल काँधमा गाउँमै जेनतेन गुजारा चलाइरहेका छोरा भीमलाई सान्त्वना तथा एक वर्षका नाति सन्जित दास र तीन वर्षकी नातिनी सन्ध्याको लालन पालन र शिक्षा दिक्षाको जिम्मेबारी आइलागेको छ । आमा र पत्नीको अन्त्येष्टिमा समेत सन्जितलाई काखमा लिनुपर्ने विवशता बन्यो उनको ।

आँधीबेहरीको रिपोर्ट आउने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे देशलाई सूचित गरे राति नै, भोलिपल्ट झापाको निर्धारित कार्यक्रम त्यागी आफ्ना आधा दर्जन मन्त्रीहरुसहित त्यसतर्फ गए, हवाई निरीक्षणमा । सत्ताधारी दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल मंगलबार त्यसतर्फ गए, सान्त्वना दिन पीडितहरुलाई ।

पूर्वराजादेखि राष्ट्रपतिसम्मले समवेदना व्यक्त गरेका छन् । यो समवेदनाले उनीहरु मानवीय क्षतिप्रति सम्वेदनशील भएको देखाउँछ, जुन सकारात्मक पक्ष हो ।

त्यति मात्र हैन, उद्धारमा राति नै खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आफ्नो संवैधानिक र संस्थागत दायित्वबाट बाहिर गई घाइते पीडितहरुका लागि रक्तदानसमेत गरेका छन् । प्रदेश २ सरकाले ज्यान गुमाएका प्रत्येक परिवारलाई तीन लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ ।

यी सबै सकारात्मक व्यवहार हुँदाहुँदै पनि अहिले अति विशिष्ठ व्यक्तिहरुले प्रभावित क्षेत्रमा भ्रमण गरि राहत र उद्धारमा समर्पित हुनु पर्ने सरकारी संयन्त्रलाई आफ्नो पछाडि लगाउनु भन्दा उनीहरुलाई पीडितको पक्षमा काम गर्न प्रोत्साहित र निर्देशित गर्न सक्नुपर्छ ।

भीम दास र रामसुरत दास पीडितहरुका प्रतिनिधि पात्र हुन् । सन्ध्या र संजितको भविष्य भावी नेपालको भविष्य हो । उनीहरुको भविष्य सुनिश्चित गर्न योगदान पुर्‍याउन आ–आफ्ना ठाउँबाट सबैले पहल गरे भने त्यो बढि मानवीय योगदान मानिने छ ।

प्रभावितस्थलमा जाँदा केही ‘पब्लिसिटी’ तत्काल पाइएला, तर पीडितको पीडामा राजनीतिक छवी उकास्ने प्रयास भन्दा नदेखिने गरी कुनै रुपमा सो पीडामा मल्हम लगाउने प्रयत्न गर्नु बढि श्रेयकर, मानवीय, स्तुत्य तथा अनुकरणीय हुनेछ ।

चैत्र १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्