अस्ट्रेलियामा नेपाली र अस्ट्रेलियनबीच मुक्का हानाहान

सिड्नी- सिड्नीको समयअनुसार सोमबार मध्यरातमा यहाँको केन्द्र टाउनहलमा दुई नेपाली विद्यार्थी र दुई अस्ट्रेलियनबीच विवादबाट सुरु भएको झगडामा हात हालाहालको स्थिति भएपछि नेपालीले चक्कु प्रहार गरेको दावी अस्ट्रेलियाको नाइन न्युजले जनाएको छ ।

बाटो काट्ने क्रममा भनाभन र त्यसपछि हात हालाहालको अवस्थामा पुगेपछि २२ वर्षीय नेपाली विद्यार्थी अनिश शाहीलाई २१ वर्षीय अस्ट्रेलियन सिन स्कुडरले टाउकोमा मुक्का हान्दा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै रगतसमेत जमेको नाइन न्युजले जनाएको छ । २३ वर्षीय दाजु तेजय स्कुडरका साथ रहेका सिन स्कुडरले अनिशलाई आक्रमण गरेपछि अनिशका साथी २५ वर्षीय मारक लिम्बूले चक्कुले स्कुडर दाजुभाइलाई प्रहार गरेका थिए ।

घटनालगत्तै घाइतेहरूलाई एम्बुलेन्समा प्राथमिक उपचारपछि सेन्ट भिन्सेन्ट अस्पतालमा लगिएको न्यू साउथवेल्स प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले सिन स्कुडरलाई हतकडी लगाएर प्रहरी चौकी लगेको थियो । स्कुडर दाजुभाइ जमानतमा रिहा भएका छन् भने नेपाली विद्यार्थी लिम्बू भने हिरासतमै रहेको एनएसडब्लु प्रहरीले जनाएको छ ।

अस्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या बढेसँगै केही नकारात्मक समाचारहरू पनि बढ्न थालेका छन् । केही दिनअघि मात्रै दुई स्थानीय नेपाली फुटबल टिमको बीचको खेलमा खेलाडीहरू एक आपसमै कुटाकुटमा उत्रिएका थिए । सो घटनामा प्रहरीलाई खबर नगरिएकाले ठूलो समाचार भने बन्न पाएन ।

सुन्दर भविष्य निर्माण गर्न सात समुद्रपारि उच्च अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरू विभिन्न नकारात्मक क्रियाकलापमा फस्दै जाँदा यस्ता घटनामा वृद्धि भइरहेका छन् । यसले गर्दा यहाँको नेपाली समुदायको साखमा गिरावट आउने भने निश्चित देखिन्छ । नेपाली विद्यार्थीहरू आफ्नो कर्मतर्फ केन्द्रित रहेर अनावश्यक उपद्रवबाट टाढा रहनुपर्ने सुझाव समाजका अगुवाहरूले दिएका छन् ।

चैत्र १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू