नयाँ शैक्षिकसत्र सुरु हुनै लाग्दा गोदाममै थन्कियो पाठ्यपुस्तक

सुर्खेत– कर्णाली प्रदेशका सामुदायिक विद्यालयहरू नयाँ शैक्षिकसत्र २०७६ का लागि विद्यार्थी भर्नाको तयारीमा छन्। शिक्षाबाट बञ्चित भएका बालबालिकालाई विद्यालयमा ल्याउन घरदैलोसहित विभिन्‍न अभियान सञ्चालन गर्ने तयारी गरिसक्दा पनि विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन।

कर्णालीका विभिन्न जिल्लामा पाठ्यपुस्तक पुर्‍याउन सुर्खेतमा गोदाम स्थापना गरिसकिएको छ। सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक वितरण गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रले प्रदेशस्थित गोदाम वीरेन्द्रनगरमा स्थापना गरेको हो। वितरण केन्द्रको गोदाममा किताब भएपनि सामुदायिक विद्यालयमा भने पुस्तक अझै पुग्न सकेको छैन। केन्द्रको प्रदेश गोदाममा करिव २० हजार सेट पाठ्यपुस्तक छन्।

कर्णालीका १० जिल्ला मध्ये डोल्पा, हुम्ला र जुम्ला जिल्लाका लागि केन्द्रले आवश्यक पाठ्यपुस्तक पठाइसकेको जनाएको छ। हिमाली जिल्लामा चैतमै शैक्षिकसत्र सुरु हुने र हिमपातका कारण समस्या हुने भएकाले पनि समयमा पुस्तक पठाइएको हो। तर सुर्खेत, दैलेख, कालिकोट, मुगु, जाजरकोटमा भने पाठ्यपुस्तक पुगेका छैनन्।

केन्द्रको प्रदेशस्थित कार्यालयका अनुसार ती पाँच जिल्लामा कक्षा ६ देखि १० सम्म मात्रै २९ हजार ७ सय ७१ सेट नयाँ पाठ्यपुस्तकहरू माग गरिएको छ। तर २० प्रतिशत कम गरि पाठ्यपुस्तक पठाउन लागिएको हो। हालसम्म पनि पाठ्यपुस्तक नपुगेका ति जिल्लामा भर्ना भएलगत्तै विद्यार्थीले पाठ्यपुस्तक पाउने सम्भावना न्यून देखिन्छ।

भौगोलिक विकटता, स्थानीय तहको ढिलासुस्ती लगायतका कारण कर्णालीका ती जिल्लाका सबै सामुदायिक विद्यालयमा पुस्तक पुग्न निकै चुनौती रहेको स्थानीय पुस्तक व्यवसायीहरू बताउँछन्।

जिल्ला–जिल्लामा पुस्तक वितरणका लागि सूचनासमेत प्रकाशन गरिएको छ। केन्द्रले दुई दिनमा एक जिल्लालाई वितरण गर्ने गरी तालिका तय गरेको छ। चैत २४ गतेसम्म पुस्तक पठाउने गरी केन्द्रले काम गरेको जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश कार्यालयका प्रमुख धनबहादुर केसीले बताए। उनका अनुसार आइतबारदेखि जिल्लाहरूमा पुस्तक ढुवानी थालिएको छ। वीरेन्द्रनगर गोदामबाट विभिन्न जिल्लाका लागि पाठ्यपुस्तकहरू वितरण थालिएको छ। केन्द्रले शिक्षा विभागबाट प्राप्त गरेको तथ्यांक अनुसार नै जिल्ला–जिल्लामा पुस्तक पठाउन थालेको उनले जानकारी दिए। यदि पुस्तक अभाव भएको खण्डमा नेपालगञ्जस्थित गोदामबाट पुस्तकको माग धान्न सकिने उनले बताए। ‘कर्णालीका सल्यान र रुकुम पश्चिममा नेपालगञ्जबाट नै पुस्तक ढुवानी हुन्छन्, तीन जिल्लामा यस अघि नै पठाइसकिएको छ’, उनले भने,‘बाँकी पाँच जिल्लामा पुस्तक पठाउन लागिएको छ। समयमा पाठ्यपुस्तक पु¥याउने लक्ष्य लिइएको छ।’ उनले विगतका वर्षजस्तो यो वर्ष कर्णालीमा पुस्तक अभाव नहुने दावी गरे।

स्थानीय सरकार बेखबर

शैक्षिक सत्र शुरु हुन करिव डेढ साता बाँकी छ। वैशाख ५ गते पाठ्यपुस्तक दिवस मनाउने तयारी छ। दिवसको लक्ष्य विद्यार्थीका हात–हातमा किताब पु¥याउनु हो। वैशाख २ गतेबाट सबै सामुदायिक विद्यालय सञ्चालनमा आउँदैछन्। नयाँ शैक्षिकसत्रका लागि कक्षा सञ्चालन हुने विद्यालयहरूमा आवश्यक पर्ने पाठ्यपुस्तक खरिदको प्रक्रिया थालिएको छैन्।

‘जिल्लामा अधिकांश स्थानीय तहमा किताब खरिदबारे कुनै वास्ता गरिएको छैन, विगतका वर्ष भन्दा यस वर्ष स्थानीय सरकारका कारण किताब ढिला पुग्ने सम्भावना देखिएको छ’, दैलेखको अल्फा स्टेशनरीका सञ्चालक किशोर केसीले भने,‘समयमा भुक्तानी नहुँदा पुस्तक दिन सक्ने अवस्था व्यापारीको छैन्, स्थानीय तहले निकासा दिएको छैन।’

जजारकोटका स्थानीय तहले पनि पुस्तक खरिदका लागि आवश्यक बजेट विद्यालयलाई निकासा दिएका छैनन्। स्थानीय तहले निकासा नदिँदा समयमा विद्यालयमा पुस्तक पु¥याउन चुनौती देखिएको जाजरकोटको स्मारिका पुस्तक पसलका हासिलाल पन्तले बताए। दैलेख र जाजरकोट मात्रै होइन्, कर्णालीका अधिकांश जिल्लामा स्थानीय तहले समयमा बजेट निकासा नदिँदा पाठ्यपुस्तक खरिदमा समस्या भएको पुस्तक व्यवसायीहरू ले बताउँदै आएका छन्। जनक शिक्षा सामाग्री केन्द्र र सामुदायिक विद्यालयबीच मध्यस्थकर्ताको भूमिका पुस्तक व्यवसायीले निर्वाह गर्दै आएको पन्तले बताए।

संघीयता कार्यान्वयनसँगै सामुदायिक विद्यालयका लागि सम्बन्धित गाउँ÷नगरपालिकाले बजेट विनियोजन गरेका छन्। तर, विनियोजित बजेट निकासा नपाउँदा किताब पु¥याउन व्यापारिलाई समस्या भएको छ। समयमा पुस्तक ढुवानी नभएको खण्डमा कर्णालीका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले पुस्तक पाउन मुस्किल पर्नेछ।

तर जनक शिक्षा सामग्री केन्द्र प्रदेश कार्यालय सुर्खेतका प्रमुख धनबहादुर केसीले चैत २४ गतेसम्म सबै विद्यालयमा पुस्तक वितरण गरिसक्ने बताए। ‘व्यापारीहरूले पुस्तक मागेका बेला पाएका छन्, हामीले पनि दिनरात नभनि पुस्तक ढुवानीका लागि काम गरेका छौँ’, उनले भने, ‘तर, आवश्यक पुस्तकअनुसार बजेट भुक्तानी नभएको खण्डमा पुस्तक पठाउन सकिदैन्। स्थानीय व्यापारीहरूको सहयोगमा केन्द्रमा सकेसम्म सबै स्थानीय तहमा पुस्तक ढुवानी गर्ने प्रयास गरेको छ।’

उनले भुक्तानी नआएका गाउँपालिकाबाट प्रमुख तथा जनप्रतिनिधिहरूले उधारो पुस्तक माग्ने गरेको बताए। उधारो मागेपनि केन्द्रले भने वितरण गरेको छैन्।

चैत १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्