उर्लाबारी–१ मा ‘क्रसर उद्योग हटाऊ अभियान’

क्रसर उद्योग हटाउन माग गर्दै स्थानीयबासी आन्दाेलनमा

मोरङ– मोरङको उर्लाबारी–१ मा सञ्चालित ‘क्रसर उद्योग हटाऊ अभियान’ अन्तर्गत स्थानीय बासिन्दा क्रसर उद्योग हटाउन माग गर्दै विरोधमा उत्रिएका छन्।

विरोधका क्रममा उर्लाबारी–१ स्थित बिहीबारे झरसाँदीमा गएको पाँच दिनदेखि स्थानीय रिले अनसनसहित संघर्षमा रहेका छन्। यस क्रममा संघर्षसमितिका संयोजक सम्मरबहादुर राईले क्रसर उद्योग स्थापनाले धुलो, उच्च ध्वनि तथा वातावरणीय प्रदूषण बढाएको गुनासो गरे।

यस क्रममा उनीहरुले सो क्षेत्र हुँदै चल्ने टिपर सवारीमा समेत रोक लगाएका छन्। गाँउ नजिकै उद्योग राखिँदा त्यसको आवाजले दैनिक प्रभावित हुनु परेको स्थानीयको गुनासो छ। राती अबेरसम्म उद्योग सञ्चालन हुँदा बालबालिकाको पठनपाठनमा असर परेको उनीहरुको भनाइ छ।

त्यसैगरी, उद्योगबाट निस्कने धुलोले बालीनालीमा समेत असर परेको संघर्ष समितिका संयोजक राईले बताए। उनले भने, ‘क्रसरको ढुंगा गिट्टीले घरखेत समेत पुर्न थालेको छ।’

पछिल्लो समय सो क्षेत्रमा पाँचवटा उद्योग क्रसर उद्योग सञ्चालनमा छन्। स्थानीय जग्गाधनीलाई समेत बिना जानकारी उद्योग खोलिएको भन्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ज्ञापनपत्र बुझाएकाछन्।

सो क्षेत्रमा करिब १ हजार घरपरिवारलाई यसबाट प्रत्यक्ष रुपमा असर पर्ने भन्दै प्रदेश सरकार, नगरपालिका समेतमा निवेदन दिएका छन्। साथै स्थानीयले उच्च अदालतमा समेत मुद्धा दायर गरेका छन्। क्रसर स्थापनामा सिफारिस गर्ने र स्वीकृति दिने निकायले चलखेल गरेको उनीहरुको आरोप छ।

चैत १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्