बारा र पर्साका पीडितलाई एनआरएनए अस्ट्रेलियाको सहयोग

सिड्नी– गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले बारा र पर्साका हावाहुरी पीडितहरुलाई आर्थिक सहयोगको घोषणा गरेको छ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको गत सोमबार बसेको आपतकालीन वैठकले मध्य तराईको बारा र पर्सामा प्राकृतिक प्रकोपका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै एक प्रेस जारी गरेर आपतकालीन राहत कोषमार्फत गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आव्हान अनुसार तीन हजार अस्ट्रेलियन डलर आर्थिक सहयोग गर्ने बताएको छ।

संघले तराई क्षेत्रका नेपालीहरूको प्रतिनिधिमूलक संस्था एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) लाई संस्थाको आपतकालीन राहत कोषमार्फत एक हजार अस्ट्रेलियन डलर आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको जनाएको छ।

यसैगरी विज्ञप्तिमा खैरहनी नगरपालिका चितवन स्थायी घर भई हाल साउदी अरबमा ड्राइभरका रूपमा कार्यरत जलेश्वर चौधरीको जीवन रक्षार्थ ब्लड मनी आवश्यक परेकोले संस्थाको आपतकालीन राहत कोषमार्फत एक हजार अस्ट्रेलियन डलर आर्थिक सहयोग गर्ने निर्णय गरेको पनि जनाइएको छ।

बैठकले मृतक परिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

चैत्र १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्