अल्जेरियाका राष्ट्रपतिले दिए राजीनामा

अल्जेरियाका राष्ट्रपति अब्दुल अजिज बुतेफ्लिकाले राजीनामा दिएका छन् । केही हप्तादेखि भइरहेको प्रदर्शनको दबाबमा राष्ट्रपति अब्दुलले राजीनामाको घोषणा गरेको अल्जेरियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

८२ वर्षका अब्दुल २० वर्षदेखि सत्तामा थिए । उनले आफू यो पटकको चुनावमा उम्मेदवार नबने र अप्रिल २८ मा कार्यकाल समाप्त भएपछि पद छोड्ने वचन दिएका थिए । तर प्रदर्शनकारीले भने तत्काल राजीनामा दिनु पर्ने माग गर्दै आएका थिए ।

देशको सत्ता सञ्चालनमा अहम भूमिका रहेको शक्तिशाली सेनाले अब्दुललाई राजीनामा दिन सुझाव दिएपछि उनले पद त्याग गरेका हुन् ।

प्रदर्शनकारीले देशको राजनीतिक व्यवस्थामा मुलभूत परिवर्तनको माग गरेका छन् । उनीहरुले सत्ता सञ्चालनमा सेनाको भूमिका हटाइनु पर्ने माग गर्दै आएका छन् । अब्दुलले आफ्नो उम्मेदवारी रद्द गर्दै अप्रिलमा हुने चुनाव टारेका थिए । नयाँ चुनावको मिति तोकिएको छैन ।

चैत २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्