आईपीएलमा आज महेन्द्रसिंह धोनी र रोहित शर्माको टोली भिड्दै

भारतमा जारी १२ औँ संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) मा बुधबार राती हुने खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नेई सुपर किङ्स र रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियनबिच प्रतिस्पर्धा हुने भएको छ।

खेल नेपाली समय अनुसार राती ८ बजेर १५ मिनेटमा मुम्बईको वाङ्खडे स्टेडियममा हुनेछ।

जारी आईपिएलमा चेन्नेई आफूले खेलेका तीनवटै खेल जित्दै ६ अंक सहित प्रतियोगिताको शीर्ष स्थानमा छ भने मुम्बईले प्रतियोगितामा तीन खेल मध्ये एउटामा मात्रै जित हात पारेको छ। मुम्बई दुई अंकसहित प्रतियोगिताको सातौँ स्थानमा रहेको छ।

आफ्ना यस अघिका खेलमा चेन्नेईले रोयल च्यालेन्जर्स बेङलोरलाई सात विकेट, दिल्ली क्यापिटल्सलाई ६ विकेट र राजस्थान रोयल्सलाई आठ रनले पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा छ।

यसैगरी मुम्बई भने आफ्ना यसअघिका खेलमा दिल्ली क्यापिटलसँग ३७ रन र किङ्स–११ पञ्जाबसँग ८ विकेटले पराजित भएको थियाे भने रोयल च्यालेन्जर्स वैङलोरलाई ६ रनले पराजित गरेको थियो।

चैत २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्