जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

खलङ्गा – किसानहरूले जुम्लाको प्रसिद्ध काली मार्सी र राती मार्सी धानको बेर्ना राखेका छन् । परम्परागत संस्कारअनुसार चैत २० गते उमारेर टुसा भएको धानको बेर्ना राख्ने गरिन्छ । सोहीअनुसार बुधबार किसानले टुसा उमारेको धानको बेर्ना राखेका हुन् ।

पुरानो संस्कारअनुसार चैत १२ गते बिउ पानीमा बोराहरुमा राखेर भिजाइन्छ, १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नामा छरिन्छ । हरेक वर्ष चैत २० गते कर्णालीमार्सी धानको बिउ घरमै उत्पादन गरी बेर्नामा छर्ने गरिन्छ । चैत १२ लाई यहाँको संस्कारमा विच्छेति पनि भनिन्छ अर्थात धानको बिउ बोरामा पानीमा भिजाई राख्ने दिनलाई यहाँ धान उत्पादनको आरम्भ दिनको रुपमा लिइन्छ ।

यहाँको चलन अनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, कनकासुन्दरी, मष्टो, कालिका, मालिका देवतालाई र आआफ्ना कुल देवतालाई सम्झेर चैत १२ गतेबाट धान उत्पादन सुरु गरिन्छ । विशेषगरी जुम्लामा चन्दननाथ बाबाले दिएको उपदेशको आधारमा धान खेतीको सुरुवात गरेको पाइन्छ । श्री शाके ९६३ अर्थात विसं १०९८ सालमा जुम्लामा धान खेती सुरुवात गरेको पाइन्छ । पुरै विशाल खस सिञ्जा राज्यभरि विसं १११२ मा धानको खेती लगाएको इतिहास छ । चैत १२ गते विभिन्न तरिकाले बिउ राखी २० गते बेर्नामा लगरे छर्न तथा आफन्त र छोरी कुटुम्बलाई बोलाई मिठो भोजन गराउनु भनी चन्दननाथ बाबाले उपदेश दिएको भन्ने किंवदन्ती रहेको छ । चैत १६ गते भिजाएको धानको चिउरा कुटने र खाने चलन रहेको छ ।

मार्सी धानको खेतीको प्रक्रियासँगै यसको महत्व पनि उतिकै मानिदै आएको छ । मार्सी धानलाई विभिन्न रोगको औषधिको रूपमा पनि प्रयोग गरिन्छ । यसको रातो भातकोे खीर निकै स्वादिलो हुन्छ । इतिहासमा पहिला राजपरिवारमा पनि जुम्लाकै मार्सी धान पठाउने गरिन्थ्यो । अहिले पनि अधिकांश व्यक्तिहरुले यसको प्रयोग गरेको पाइन्छ । नेकपाका अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जुम्ली मार्सी धानको भात खाएको सार्वजनिक भएसँगै यसको लोकप्रियता एकाएक बढेको हो । अहिले नेपाली बजारमा यसको माग बढिरहेको छ ।

जुम्लामा धेरै पहिलादेखि मार्सी धानको खेती सुरु भए पनि विश्वकै अग्लो स्थानमा धान फल्ले छुम चौरमा यसको खेती कम हुँदै गएको स्थानीय कलीमान महताराले बताए । पछिल्लो समय जुम्लामा कीटनाशक औषधिको प्रयोग र पानीका मुहान सुक्दै जानाले यसको खेतीमा ह्रास आएको छ । ऐतिहासिक कालीमार्सी धानलाई जोगाउन जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरिए पनि उचित सिँचाइको व्यवस्था नहुँदा यसको उत्पादन बढाउन सकिएको छैन ।

चैत २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्