बोइङ्ग ७३७ म्याक्स

बोइङ्गको नयाँ सफ्टवेयर सिस्टम ‘फुलप्रुफ’ !

बोइङ्ग ७३७ म्याक्स विमानको मनुभरिङ्ग क्यारेक्टरस्टिक अग्मेनटेसन सिस्टम (एमसिएएस) नामक फ्लाइट कन्ट्रोल फिचरको नयाँ संस्करण पहिलेको भन्दा उपयुक्त देखिएको नर्वेजियन एयरका प्रमुख कार्यकारी ब्योर्न केजोसले बताएका छन् ।

सियाटलमा रहेको बोइङ्गको विमान निर्माण क्षेत्रको अवलोकनपछि उनले एमसिएएसको नयाँ सिस्टम ‘फुलप्रुफ’ अर्थात पहिलो जस्तो झुक्याउने खालको नरहेको बताएका हुन् । अर्थात नयाँ एमसिएएसले सही जानकारी दिने देखिएको केजोसले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

लडाकु विमानका पूर्व पाइलट समेत रहेका केजोसले लगातार ट्वीट गरेर आफूले म्याक्स स्टिमुलेटरमा एमसिएएसको पुरानो र नयाँ सिस्टमको परीक्षण गरेको उल्लेख गरेका छन् । आफ्नो परीक्षणमा नयाँ सिस्टम फुलप्रुफ देखिएको उनले उल्लेख गरेका हुन् ।

पाँच महिनाको अन्तरमा बोइङ्ग ७३७ म्याक्सका दुई विमान दुर्घटना भइ झण्डै ३५० जनाको ज्यान गएपछि अहिले विश्वभर बोइङ्ग ७३७ म्याक्स सिरिजका ३०० भन्दा बढि विमान ग्राउण्डेड छन् ।

अमेरिकी विमान निर्माता कम्पनी बोइङ्गले आउँदो हप्ता बोइङ्ग ७३७ म्याक्समा सफ्टवेयर सवलिकरणको प्याकेज लागु गर्ने तयारी गरेको छ । केजोसले विश्वभरका नियमक निकायले राजनीति भन्दा पनि यात्रुको सुरक्षालाई केन्द्रमा राख्नेमा आफू आशावादी रहेको बताएका छन् । उनले नयाँ सिस्टमबाट आफू सन्तुष्ट रहेको र परिवारसहित म्याक्स सिरिजको विमानमा यात्रा गर्ने उल्लेख गरेका छन्।

गएको मार्च १० मा इथियोपियाबाट केन्याका लागि उडेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स एट विमान उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो । दुर्घटनामा विमानमा रहेका सबै १५७ जनाको ज्यान गएको थियो ।

दुर्घटनापछि विमान निर्माता कम्पनी बोइङले म्याक्स ७३७ मोडलका विमान ग्राउण्डेड गरेको छ । किनकी पाँच महिनाअघि इन्डोनेसियाको लायन एयरको विमान दुर्घटना भएको थियो र त्यो पनि बोइङ ७३७ म्याक्स एट नै थियो । दुवै दुर्घटनामा केही समानता रहेका देखिएपछि बोइङ ७३७ म्याक्सको सुरक्षालाई लिएर चासो बढेका बेला केजोसको भनाई आएको हो ।

मनुभरिङ्ग क्यारेक्टरस्टिक अग्मेनटेसन सिस्टम (एमसिएएस) नामक फ्लाइट कन्ट्रोल फिचरको संलग्नता पाँच महिनाअघि १८९ जनाको ज्यान जाने गरि भएको लायन एयरको दुर्घटनामा थियो । लायन एयरको दुर्घटना सम्बन्धी अनुसन्धानले एन्टी–स्टल सिस्टमले राम्रोसँग काम नगरेको देखिएको थियो ।

 

चैत २१, २०७५ मा प्रकाशित