सरकारले गरेका नियुक्तिको कांग्रेसले प्रतिरोध गर्छ: देउवा

मोरङ– न्यायीक क्षेत्रमा सरकारले गरेको नियुक्तिको नेपाली कांग्रेसले विरोध गर्ने पार्टी सभापति शेरबहादुर देउवाले बताएका छन्।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले विगतमा भएका नियुक्त र निर्णयप्रति कांग्रेसको आपत्ति रहेको प्रष्ट पारे।

सभापति देउवाले सरकारको कामकारवाही फितलो र हस्तक्षेपकारी भएको आरोप लगाए। न्यायिक परिषदले गरेको नियुक्तका विषयमा अहिले नै टिकाटिप्पणी गर्न नहुने बताए। सभापति देउवाले भने, ‘न्यायिक परिषदले गर्ने निर्णय राजनीतिभन्दा बाहिर हुनुपर्छ। यस क्षेत्रमा राजनीति हस्तक्षेप हुनुहुँदैन।”

संवैधानिक परिषदमा भएका निर्णय र नियुक्तीमा पार्टीले विरोध गरिरहेको बताएका सभापति देउवाले सरकारले एकलौटी निर्णय गर्न नपाउने बताए। यस क्रममा कांग्रेसले आन्दोलन गर्ने उनले स्पष्ट पारे। सभापति देउवाले भने, ‘यसको विरुद्धमा पर्‍यो भने, पार्टी आन्दोलन गर्न सक्छ।’

त्यसैगरि, पार्टी भित्रको विवादका कारण एकपक्षले विशेष महाधिवेशनको माग गरिरहेको सन्दर्भमा सभापति देउवाले महाधिवेशनको सामना गर्न तयार रहेको बताए। उनले भने, ‘विशेष महाधिवेशन बोलाएपनि हुन्छ त्यसमा केही छैन। म फेस गर्न तयार छु। तर पार्टीले विशेष महाधिवेशन बोलाउँदैन। जस्तो जे परे पनि बोलाउँदैन।’

देउवाले ५० जिल्लाका सभापति भेला भएको नभई न्यून सङ्ख्यामा मात्र भेला भएको जानकारी दिँदै आफू जिल्ला सभापतिहरुको निर्णयलाई सामना गर्न तयार रहेको बताए।

नेपाल टेलिकम वर्कश युनियनको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका देउवा बिहीबार नै काठमाडौँ फर्कनेछन्। सभापति देउवासँगै उपसभापति विजयकुमार गच्छेदार पनि कार्यक्रममा सहभागी हुन आएका छन्।

चैत २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्