ओरियन्टल सहकारी पीडितद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ– ओरियन्टल सहकारीका पीडितहरुले एक विज्ञप्ति जारी गर्दै सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जारी गरेको विज्ञप्तीबाट आफूहरु समस्यामा परेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन्।

सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दैे सुधीर बस्नेत अध्यक्ष रहेको महालक्ष्मी गाउँपालिका वडा नम्बर दुई मा रहेको भेगास सिटिमा निर्माणधिन अपार्टमेन्ट लिलाम गर्ने सूचना निकालेको थियो।

ओरियन्टल पिडितहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारद्वारा समस्याग्रस्त घोषित ओरियन्टल को–अपरेटिभका तत्कालिन अध्यक्ष सुधीर बस्नेत अध्यक्ष तथा संचालक रहेको कोहिनुर हिल हाउजिङ प्रा.ली. अन्तर्गत ललितपुर जिल्लाको साविकको इमाडाल गाउँविकास समिति हालको महालक्ष्मी गाउँपालिका वडा नम्बर दुई मा रहेको भेगास सिटिमा निर्माणधिन अपार्टमेन्टको बारेमा अध्यक्ष सुधीर बस्नेतले पेश गरेको डिपिआर नै अध्ययन नगरी समितिले अपार्टमेन्ट लिलामीको सुचना दिनु पिडितहरुका लागि दुर्भाग्य मात्रै होइन हामीलाई मर्माहत बनाएको छ।’

विज्ञप्तीमा पिडितहरुले डिपिआर दराजमा थन्काइएको भन्दै यसको छानवीन गर्नुपर्ने माग गरेका छन्।

चैत २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्