हुरी पीडितको राहतका लागि प्रदेश एक सरकारले पनि एक करोड दिने

विराटनगर – गत आइतबार बारा र पर्सा जिल्लामा गएको हावाहुरीबाट पीडितलाई प्रदेश नम्बर एक सरकारले पनि १ करोड रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। बिहीबार साँझ बसेको प्रदेश सरकारको बैठकले एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

बैठकपछि प्रदेशसचिव केदार न्यौपानेले उपलब्ध गराईने रकम प्रदेश नम्बर २ सरकारको राहत तथा उद्दार कोषमा जम्मा गरिने जानकारी दिए। त्यसैगरि बैठकले प्रदेश प्रहरीको गठन, सेवा शर्त सञ्चालन गर्न बनेको विधेयक २०७५ लाई सैद्धान्तिक स्वीकृत गरेको छ।

प्रदेश सचिव न्यौपानेले शनिबारदेखि चतरामा सुरू हुने दोश्रो पिण्डेश्वर अर्ध कुम्भमेलाको व्यवस्थापन गर्न मूल समारोह समिति गठन गरिएको जानकारी दिए। एक महिनासम्म जारी रहने अर्धकुम्भ मेलामा करिब २ करोड भक्तजनले स्नान गर्ने अपेक्षा गरिएको छ।

मेलामा सरकारले भक्तजनको सहजताका लागि कार्यालयको समेत स्थापना गर्नेछ। मेला शान्त र भव्य रूपमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र विशेष अवस्थामा नेपाली सेनालाई पनि खटाउने जनाईएको छ।

कुम्भ स्नानका क्रममा संक्रमणलाई ध्यानदिदै आषधि उपचार तथा चिकित्सकको टोली, बिरामीका लागि एम्बुलेन्सको समेत व्यबस्था गरिने न्यौपानेले जानकारी दिए। मेला बैशाख २२ गतेसम्म आयोजना हुनेछ।

चैत २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्