ऐन, कानुनको अभावमा अपेक्षाकृत काम गर्न सकिएन – मुख्यमन्त्री राई

विराटनगर– प्रदेशमा आवश्यक ऐन कानुनको अभाव रहदाँ आर्थिक क्षेत्रमा अपेक्षाकृत कार्य गर्न नसकिएको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्।

विराटनगरमा शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को दोस्रो साधारणसभाको उद्घाटनका क्रममा मुख्यमन्त्री राईले संघ र स्थानीय तहको तुलनामा प्रदेश सरकार शून्यबाट अघि बढ्ने क्रममा रहेका कारण अपेक्षाकृत नतिजा दिन नसकिएको स्पस्ट पारे।

उनले भने, ‘अन्य दुई तहको जग बलियो रहेको छ। हामी प्रदेश भर्खर शुन्यबाट अघि बढ्ने क्रममा रहेकाछौ। त्यसैले केही सुस्ता देखिएको हुनसक्छ। तर, विस्तारै प्रदेश सरकारले आर्थिक क्षेत्रमा समेत गति लिनेछ।’

ऐन कानून निर्माणदेखि भौतिक संरचना निर्माणमा केन्द्रित रहेको बताएका मुख्यमन्त्री राईले अबको लक्ष्य आर्थिक क्षेत्रमा फड्को मार्नु रहेको बताए। ‘हामीसँग उभिने आधार नहुदाँ यसले केही सुस्ता पाएको जस्तो देखिएपनि हामी अब आर्थिक क्षेत्रको कार्यका लागि तयार अवस्थामा रहेकाछौ’, उनले भने।

यद्यपी कार्यक्रममा सहभागी उद्योगी ब्यवसायीले भने, सरकार र निजी क्षेत्रबीच सम्बन्धले सुमधुरता पाउन नसक्दा आर्थिक क्षेत्रमा कमी कमजोरी देखिएको औल्याएका थिए। प्रदेशको आर्थिक क्षेत्र बलियो बनाउनका लागि सरकार र निजी क्षेत्रबीच सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिएका उद्योगीहरुले विश्वासको बातावरण सरकारले बनाउनु पर्ने बताएका थिए।

सोही क्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ सल्लाहकार चण्डीराज ढकालले बंैकिङ क्षेत्रको बढ्दो ब्याजदरका कारण उद्योग क्षेत्र धरासायी बन्दै गएको गुनासो गरे। विगतमा पटक–पटक बैंकको ब्याजदर घटाउने सहमति गरे पनि हालसम्म सरकार यसतर्फ सकारात्मक बन्न नसकेको उनको गुनासो छ।

जसका कारण लगानीकर्ता, उद्योगी, तथा सरकारबीच विश्वासको बातावरण बन्न नसकेको ढकालले बताए। सोही क्रममा महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउतले आर्थिक विकासका लागि सबै क्षेत्र एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। आर्थिक क्षेत्रको पहिचान गर्दै संघ, प्रदेश र स्थानीय तहले लगानीको उचित वातावरण बनाए मात्र विकासको संभावना बलियो हुने उपाध्यक्ष राउतको भनाइ छ।

चैत २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्