जलविद्युत आयोजनाले होटल व्यवसायमा थप्यो आश

खाँदबारीमा थ्री–स्टार होटल बनाउने प्रयास

संखुवासभाको सुगम पर्यटकीय क्षेत्रका रुपमा परिचित खाँदबारीमा होटल व्यवसायप्रति आकर्षण बढ्दै गएको छ।

खाँदबारीसम्म पुग्नका लागि सडकमार्ग र सातामा दुईपटक हवाई सेवा प्रदायक कम्पनीले तुम्लिङ्गटारसम्म हवाई सेवा दिन थालेसँगै होटल व्यवसाय फस्टाउँदै गएको स्थानीय व्यवसायीको भनाई छ।

खाँदबारीबाट पर्यटकीय क्षेत्र मकालु–वरुण राष्टिय निकुञ्ज, मकालु हिमाल लगायतका लागि पर्यटक पुग्ने गरेका छन्। त्यसैगरि पछिल्लोसमय सो क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजना, रुद्राक्षको व्यापारले पनि खाँदबारीमा स्थानीयलाई होटल व्यवसायतर्फ थप आकर्षित गर्दै लगेको छ।

खाँदबारी बजारमा २०४२ सालदेखि होटल व्यवसायको सुरुवात भएको होटल व्यवसायी संघ संखुवासभाको आँकडा रहेको छ। त्यसयता हालसम्म सो क्षेत्रमा कम्तिमा २० वटा होटल तथा लज सञ्चालनमा रहेका छन्।

तथापि, पछिल्लो समय करिब ८ करोडको लगानीमा स्थानीय होटल व्यवसायी नविनकुमार गौलीले अत्याधुनिक र आकर्षक होटल सञ्चालनमा ल्याएका छन्। २०४२ सालदेखि खादबारीमा होटल व्यवसाय गर्दै आएको गौली परिवारले पुरानै पेशालाई थप बिस्तार गरेको जनाउँछ। ५३ वर्षे नविन गौलीका अनुसार खाँदबारीमा होटल सञ्चालन गर्ने गौली परिवार पहिलो हो।

आफ्नो कान्छो छोरा सुलभ गौलीलाई होटल व्यवसायमा आवद्ध गराउँदै आएका नविनका अनुसार, खाँदबारीमा निर्माण हुने जलविद्युत आयोजना, वैदेशिक रोजागरीबाट फर्किएका मानिसहरु, पर्यटकीय गन्तव्य तथा रुद्राक्ष व्यवसायका कारण होटल व्यवसायको अवस्था राम्रो हुँदै गएको छ।

पहाडी विकट क्षेत्रमा ठूलो लगानीसहित उत्साहका साथ व्यवसायमा लागि परेका गौली बैंकबाट ऋण काढेर काम गरिरहेको बताउँछन्। उनी भन्छन्, “संभावना छ भनेर काममा हात हालेको छु। तर दिनानुदिन बैंकको ब्याज ८ बाट ११ प्रतिशत पुगिसकेको छ। चर्को ब्याजले भने मर्का परिरहेको छ। व्यवसाय गर्नेलाई सरकारले सहुलियत दिनुपर्ने तर देखिँदैन।”

पछिल्लाे समय विभिन्न कारणले होटल व्यवसायलाई धरापमा पार्दै लगेको गुनासो संखुवासभा होटल व्यवसायी संघका अध्यक्ष डाक्टरप्रसाद पराजुलीको छ। उनी भन्छन्, “विगतमा भन्दा २५ प्रतिशतपनि पर्यटक छैनन्। व्यवसाय जसोतसो भरथेग गर्दै चल्दैछन्।”

अध्यक्ष पराजुलीको भनाई भन्दा फरक धारणा राख्छन्, गौली परिवारबाट सञ्चालित आरती होटलका प्रमुख कार्यकारी सुलभ गौली।

संखुवासभामा करिब १ हजार मेघावाटको माथिल्लो अरुण र ९ सय मेघावाटको अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुवातपछि होटल व्यवसायले अवसर पाउने बुझेका सुलभले अहिले नै यस व्यवसायबाट निराश भइहाल्ने अवस्था नरहेको बताउँछन्।

होटल व्यवस्थापन अध्ययन गरेका २४ वर्षिय सुलभ होटलका लागि मुख्य लक्ष्य भनेको वैदेशिक रोजगारीबाट फर्किएका मानिस, मकालु बेस क्याम्प पुग्ने पर्वतारोही तथा जलविद्युत आयोजना नै रहेको बताउँछन्। संखुवासभा जिल्लामै आधुनिक र खर्चिलो होटल निर्माण गर्दै अघि सरेका सुलभ चीनबाट आउने रुद्राक्षको व्यापारीको सेवामा समेत लक्षित हुँदै गएको बताउँछन्।

खाँदबारीमा गौली परिवार सम्पन्न परिवारमा गनिन्छ। त्यसबाहेक करिब ७० विगाह क्षेत्रफलमा अर्ग्यानिक खेती गरिरहेको गौली परिवार होटलमा समेत अर्ग्यानिक उत्पादनले स्थान पाउने दाबी गर्छन्।

हाल ८ रोपनी क्षेत्रफलमा सञ्चालनमा आएको उनको होटलमा ४० वटा कोठा छन्। थ्री स्टारको बरियतामा पुग्ने लक्ष्य लिएको आरती होटलमा फर्निसिंगका लागि भक्तपुर, सिलगढी, विराटनगरबाट काठका आकर्षक ढाँचा तयार गरिएको हो।

होटलमा प्रयोग गरिएको अधिकांश सजिसजाउका सामग्री चीनबाट ल्याइएको बताएका सञ्चालक नविन होटलमा प्रयोग गरिएका काठ भने २०७२ सालमा गएको भूकम्पबाट भत्किएका घरहरुको रहेको बताउँछन्। उनले भने, “होटलमा प्रयोग भएका काठहरु हामीहरुले भूकम्पबाट क्षतिपुगेका घरहरुबाट खरिद गरेका हौँ।”

चैत २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्