नेपालमा पहिलोपटक टोर्नाडो

बारा र पर्साको हावाहुरी सामान्य होइन, विनाशकारी ‘टोर्नाडो’: वैज्ञानिक

काठमाडौँ – बारा र पर्सामा ठूलो जनधनको क्षति हुने गरि अचानक आएको हावाहुरी साधारण नभई टोर्नाडो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रारम्भिक अध्ययनबाट गएको आइतबार बेलुकाको मौसमी प्रणाली साधारण हावाहुरी नभई टोर्नाडो रहेको मौसम विभागका महानिर्देशक सर्जु वैद्यले देश सञ्चारलाई जानकारी दिएका छन् ।

देश सञ्चारसँग महानिर्देशक वैद्यले भने, ‘प्रारम्भिक अनुसन्धानले आइतबारको मौसमी प्रणाली टोर्नाडो रहेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग र द स्मल अर्थ नेपालले गरेको संयुक्त अध्ययनबाट यो तथ्य पत्ता लागेको हो ।’

वैज्ञानिकको संयुक्त टोलीले सेन्टिनिल भू उपग्रहबाट प्राप्त उच्च रिजोलुसनसहितका तस्बिरको अध्ययन गरेको विभागले जनाएको छ । ती तस्बिरमा टोर्नाडोकाको मार्गका साथै भएको क्षतिको मार्ग पनि देखिएको महानिर्देशक वैद्यले बताएका छन् ।

यस्तै घटनापछिका तस्बिर र भिडियोहरुको विश्लेषणबाट पनि उक्त विनाशाकारी आँधी टोर्नाडो नै रहेको पुष्टि भएको उनले बताएका छन् ।

यो भन्दाअघि नेपालमा टोर्नाडो आएको तथ्य वा आंँकडा मौसम विभागसँग नरहेकाले यो नै पहिलो टोर्नाडो रहेको महानिर्देशक वैद्यले बताएका छन् ।

मौसम विज्ञान विभागले भनेको छ, ‘यस्ता प्रकारका अति विमाशकारी मौसमी घटनाको विस्तृत जानकारीका लागि वैज्ञानिकसहितको स्थलगत अनुसन्धानको खाँचो रहेको छ ताकि भविष्यमा यस्ता प्रकारका घटनाको पूर्व सूचना प्रवाह गरि उपयुक्त सतर्कता अपनाउन पुगोस् ।’

चैत २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्