मौसम विज्ञान विभागका महानिर्देशकसँग अन्तर्वार्ता

बारामा गएको भयानक आँधी ‘टोर्नाडो’ को किन हुन सकेन पूर्वानुमान?

काठमाडौँ – बारा र पर्सामा गत आइतबार आएको विनाशकारी हावाहुरी ‘टोर्नाडो’ रहेको पुष्टि भएपछि नेपालमा यसबारे थप अध्ययन अनुसन्धानको खाचो रहेको वैज्ञानिकले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सर्जु वैद्यले खासगरी अमेरिकामा देखा पर्ने टोर्नाडो एकाएक नेपालमा देखा परेकोले यसबारे गहिरो अनुसन्धान हुनुपर्ने बताए । खासमा ‘टोर्नाडो’ के हो ? देश सञ्चारका दीपक जोशीले महानिर्देशक वैद्यसँग गरेको कुराकानीको सारसंक्षेप ।

बारा र पर्सामा आएको विनाशकारी हुरीलाई तपाईँहरुले ‘टोर्नाडो ’ भन्नुभएको छ । टोर्नाडो भनेको के हो ?

टोर्नाडो भनेको सुनामी जत्तिकै शक्तिशाली हुरी हो । यसले लामो समयदेखि विशेष गरी अमेरिकामा विनाश निम्त्याउने गरेको थियो । एकाएक नेपालमा देखियो । हामीले सेन्टिनिल भू–उपग्रहबाट प्राप्त उच्च रिजोलुसनसहितका तस्बिरको अध्ययन गरेपछि बारामा आएको हुरी टोर्नाडो नै रहेको पुष्टि गरेका हौँ ।

यसको अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पनि खटिएको थियो । घटनास्थलमा खटिएको टोलीको अध्ययनबाट पनि हामी बारा र पर्सामा टोर्नाडोकै कारण विपद निम्तीएको निष्कर्षमा पुगेका हौँ ।

कसरी र किन आउँछ टोर्नाडो ?

आकाशबाट बादलसहितको वायु भूमरी जस्तो बनेर धर्तीमा केन्द्रीत भएमा ‘टोर्नाडो’ हुने गर्छ । यसले जहाँ आफूलाई केन्द्रीत पार्छ अथवा जहाँ जहाँ छुन्छ, त्यहाँ पुरै विनाश हुन्छ ।

यसले रुखहरु उखेल्ने, बिजुलीका पोलहरु उखेल्ने र घर तथा भौतिक पूर्वाधारहरु समेत उखेल्ने गर्छ । यसले जमिनमा छोएपछि जहाँ छोयो त्यहाँ भूमरी हुन्छ, सामान्य भाषामा टोर्नाडोले भ्याकुम क्लिनर जस्तो काम गर्छ ।

अहिलेसम्म अमेरिका लगायतका क्षेत्रमा मात्रै टोर्नाडो आउने गरेको भन्नुभयो । नेपालमा कसरी आयो त?

नेपाल र अमेरिकाको मौसमी प्रणाली धेरै फरक छ । अमेरिकामा समुद्र पनि रहेकोले त्यहाँबाट वाष्पीकरण हुने वाफका कारण टोर्नाडोले बढि प्रभाव पारेको हुन सक्छ । तर नेपालमा अहिलेसम्म टोर्नाडो आएको इतिहास रेकर्डमा छैन ।

यसपटक एक्कासी कसरी आयो त्यो अध्ययनको विषय बनेको छ । नेपाल सानो मुलुक भए पनि यहाँको मौसमी प्रणाली फरक फरक रहेकोले यसबारे थप अध्ययन अनुसन्धान गर्न अति आवश्यक भइसक्यो ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सर्जु वैद्य

नेपालमा टोर्नाडोको पूर्वानुमान किन हुन सकेन?

टोर्नाडो एकदमै छोटो समयमा विकसित हुने भएकाले यसको पूर्वानुमान गर्न सजिलो छैन । अमेरिका लगायतका क्षेत्रमा पनि यसको पूर्वानुमान १५ देखि २० मिनेट अगाडि मात्रै हुने गरेको छ । टोर्नाडोले १५ देखि २० मिनेटमा विकास भएर छोटो समयमै ठूलो क्षति पुर्‍याउछ ।

तर टोर्नाडो आउदैछ भन्ने पूर्वानुमान १५ मिनेट अगाडि गर्न सकिए पनि कुन ठाउँमा जान्छ भन्ने अनुमान अमेरिकाका मौसमविदहरुले पनि अहिलेसम्म गर्न सकेका छैनन् । दक्ष जनशक्ति र अत्याधुनिक उपकरणको अभाव रहेको नेपालमा यसको पूर्वानुमान सम्भव छैन ।

टोर्नाडोले नेपालमा ठूलो क्षति पुर्‍यायो, क्षति कम गर्ने उपाय छैन ?

टोर्नाडो कहाँ र कतिबेला आउछ भन्ने पूर्वानुमान गर्न सकिँदैन । तर यसले बढि क्षति पुर्‍याएको अमेरिकाको टोर्नाडो प्रभावित क्षेत्रमा त्यहाँको सरकारले जमिनमुनि बंकर बनाएको छ । त्यहाँ १५ मिनेट अगाडि मात्रै पनि टोर्नाडोको पूर्वानुमान भएमा खतराको साइरन बज्छ र मानिसहरु जमिनमुनिको बंकरमा जान्छन् ।

त्यहाँ सयौँ वर्षदेखि टोर्नाडो गइरहेकोले सुरक्षात्मक संरचना तयार पारिएको छ । तर नेपालको बारा र पर्सामा अधिकांश कच्चीघरहरु भएकोले क्षति बढि भएको अनुमान गरेका छौँ । त्यसकारण घर लगायतका संरचना बलियो गरि निमार्ण गर्नुपर्छ ।

नेपालमा मौसम पूर्वानुमान प्रणाली सुरु भएको पनि ५० वर्षभन्दा धेरै भइसक्यो ? यसलाई अत्याधुनिक कहिले बनाउने ?

मौसमी प्रणालीबारे पूर्वानुमानको विषय विश्वका धेरै देशहरुको पहिलो प्राथमिकतामा छ । तर हामीकहाँ भएको एउटा उपकरण बिग्रीयो भने मर्मतका लागि बजेट हुँदैन । हामीले अत्याधुनिक वैज्ञानिक (दक्ष जनशक्ति) पनि उत्पादन गर्न सकेका छैनौँ । यसमा राज्यले गम्भीर ध्यान दिन जरुरी छ ।

चैत २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्