अस्पतालमा हंगामा गर्ने चारजना पक्राउ

विराटनगर – विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीमाथि दुर्व्यवहार गर्ने चारजना विरुद्ध ‘अभद्र व्यवहार’ अन्तर्गतको मुद्दा चलाइने भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीका अनुसार शनिबार साँझ अस्पतालपरिषरमा चिकित्सकमाथि अभद्र व्यवहार गर्दै हुलज्जत गर्ने मोरङ जहदा गाउँपालिकाका विनोद राय, उमेश राय, जागवत सहनी र प्रमोद रायलाई पक्राउ गरिएको थियो।

उनीहरुविरुद्ध आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। प्रहरीका अनुसार, मादकपदार्थ सेवन गरेका उनीहरुले अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक सुनिलबावु खनालसहित अन्य कर्मचारीलाई दुर्व्यवहार गरेका थिए।

हातमा लागेको चोटका कारण अस्पतालमा पुगेका विनोदको उपचारका बहानामा चारै जना आकस्मिक कक्षमा पुगेका थिए। सोही क्रममा डा. खनालको टोलीले उपचार सुरु गर्दै गर्दा उनीहरुले गालीगलौज गर्दै चिकित्सक र कर्मचारीमाथि आक्रमक शैलीमा प्रस्तुत भएको प्रहरी उपरीक्षक केसीको भनाई छ।

अस्पताल परिषरमा होहल्ला र हुलदंगाका कारण उपचारका लागि आएका अन्य बिरामीलाई समेत असर पर्न थालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

चैत २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्