सरकारले वंशजको नागरिकता पाउन सजिलो पारेपछि सिडियो कार्यालयमा भिडभाड

मोरङको जिल्ला प्रशासन कार्यालय अगाडी नागरिकता लिनेको भीड। तस्बिरः देश सञ्चार

मोरङ– जिल्ला प्रशासन कार्यालय मोरङमा वंशजको नागरिकता लिने अंगिकृत नागरिकका सन्तानको संख्यामा दिनानुदिन वृद्धि हुँदै गएको छ।

अंगिकृतका सन्तानलाई वंशजको नागरिकता लिन सरकारले चैत १९ गतेबाट बाटो खुला गरिदिएपछि जिल्ला प्रशासनमा भीड बढेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।

भीड व्यवस्थित गर्नका लागि प्रशासनले आइतबारबाट टोकन प्रणाली सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। टोकन प्रणालीका क्रममा अब दैनिक दुईसय जनालाई नागरिकता वितरण गरिने बताएका पाण्डेले गत बिहीबारदेखि आइतबारसम्म जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तान मध्ये ५ सय ८३ जनाले वंशजको नागरिकता पाइसकेको जानकारी दिए।

हाल २ हजार भन्दा बढीको संख्यामा वंशजको नागरिकता माग गर्दै जिल्ला प्रशासन कार्यालयमा युवायुवतीले फारम भरिसकेको बताइएको छ। नागरिकता लिनेको संख्यामा वृद्धि भएपछि, कार्यालयले नागरिकता फाँटमा रहेका ५ जनाको कर्मचारी संख्यामा वृद्धि गर्दै ९ जना पु¥याएको छ।

जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले भने उमेर पुगिसक्दा पनि नागरिकता पाउन नसक्दा उच्च शिक्षा हाँसिल गर्न र रोजगारीको अवसरबाट बञ्चित हुँदै आएको गुनासो रहेको थियो।
वंशनको नागरिकता लिनका लागि स्थानीय तहबाट सिफारिस बनाएर दैनिक सयौँको संख्यामा युवायुवती प्रशासन पुग्ने गरेका छन्।

गृह मन्त्रालयले चैत १९ गते मुलुकका ७७ वटा जिल्ला प्रशासन कार्यालयलाई अंगिकृतका सन्तानलाई वंशजको नागरिकता उपलब्ध गराउन परिपत्र जारी गरेको थियो।

चैत्र २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्