युवा खेलाडी तयार गर्दै एन्फा, विराटनगरबाट छानिए ३२ जना

मोरङ– फुटबलको विकास र युवा खेलाडीको समूह तयार गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाले सुरु गरेको खेलाडी छनोटका क्रममा विराटनगरबाट पहिलोचरणमा ३२ जना खेलाडी छनोट भएका छन्।

आइतबार अन्तिम छनोटका क्रममा १६ वर्षमुनि १६ जना र १३ वर्षमुनिका १६ खेलाडी छनोट भएको राष्ट्रिय प्रशिक्षक मनिष तिम्सिनाले जानकारी दिए। विराटनगरको शहिद रङशालामा बुधबारदेखि छनोट कार्य जारी रहेको थियो।त्यसैगरि, मंगलबार उर्लाबारीको मङ्गलबारे र बेलबारीमा पनि दुवै समूहमा खेलाडी छनोट हुनेछन्। प्रशिक्षक तिम्सिनाले भने, ‘उर्लाबारी र बेलबारीबाट छनोट भएका खेलाडी र विराटनगरबाट छनोट भएका खेलाडीहरुले बुधबार हुने जिल्लाको अन्तिम छनोटमा प्रतिस्पर्धा गर्नेछन्।’

एन्फाले खेलाडी छनोटका क्रममा संख्या भन्दापनि क्षमतालाई मध्यनजर गरेको हुनाले जिल्लाबाट यति नै खेलाडीको छनोट हुन्छन्, भन्ने कुरामा आफूहरु विश्वस्त नभएको उनले बताए। उनले भने, ‘हामी संख्यामा भन्दापनि खेलाडीको क्षमता, शैली, शारीरीक अवस्थालाई ध्यान दिइरहेका छाैँ। आशा छ जिल्लाबाट कम्तिमा दुवै समूहमा समान १५ जना खेलाडीलाई प्रदेश एकको छनोटसम्म पुराउने छौँ।’ गएको चार दिनको छनोटका क्रममा विराटनगरमा १ सय २३ जना खेलाडीले सहभागिता जनाएका थिए।यस्तै प्रदेश नम्बर–१ अन्तर्गत सुनसरी, मोरङ, झापा, उदयपुर, सप्तरी, खोटाङको छनोट सुनसरीमा चैत्र २९ देखि बैशाख १ गतेसम्म सुनसरीको दुहबीमा हुने सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष केशव कार्कीले जानकारी दिए। अध्यक्ष कार्कीले भने, ‘प्रदेश एक अन्तर्गत धनकुटा र इलाममा पनि छनोट भइरहेको छ। जसबाट १३ वर्ष मुनिका खेलाडी एकेडेमीमा राखिनेछ।’एन्फाले यस कार्यक्रमबाट खेलाडीको क्षमता र खेल विकासमा ध्यान पुर्‍याउने जनाएको छ। हाल ७७ जिल्लामा जारी छनोटका क्रममा १३ वर्षमुनिका ७५ जना खेलाडीलाई एन्फाको विभिन्न एकेडेमीमा राखिनेछ। जसमा धरान एकेडेमी, बुटवल एकेडेमी र ललितपुरस्थित एन्फा एकेडेमी रहेका छन्।

१६ वर्ष मुनिका खेलाडीलाई भने छनोट गर्दै राष्ट्रिय टोलीका लागि तयार गरिने अध्यक्ष कार्कीले जानकारी दिए।

 

चैत २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्