पाकिस्तानले लगायो भारतमाथि गम्भीर आरोप

‘भारत फेरि पाकिस्तानमाथि आक्रमणको तयारीमा छ’

पाकिस्तानले भारतमाथि यहि महिना (अप्रिल) मा सैन्य आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ ।

विश्वसनीय गुप्तचर सूचना अनुसार भारतले सैन्य आक्रमणको तयारी गरेको आरोप पाकिस्तानले लगाएको हो । पाकिस्तानको आरोप भारतले खारेज गरेको छ । पाकिस्तानी आरोप ‘वार हिस्टेरिया’ रहेको भारतको भनाई छ ।

पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेशीले भारतले १६ देखि २० अप्रिलको बिचमा पाकिस्तानविरुद्ध सैन्य आक्रमणको तयारी गरेको आरोप लगाएका हुन् ।

गएको फेब्रुअरी १४ मा जम्मू–कश्मीरको पुलवामा आक्रमणपछि दुई देशबिचको सम्बन्धमा तनाव आएको छ । त्यसपछि भारतले बालकोट क्षेत्रमा हवाई आक्रमण गर्‍यो ।

पाकिस्तानी सेनाले एक भारतीय विमान खसाले र त्यसका पाइलटलाई नियन्त्रणमा लिए । नियन्त्रणका लिएका पाइलटलाई सकुशल फिर्ता पठाएर पाकिस्तानले वार्ताको पहल गरेको थियो तर त्यसले सम्बन्धमा सुधार ल्याउन सकेको देखिएको छैन । सम्बन्ध सुधारको साटो भारतले फेरि आक्रमणको तयारी गरेको आरोप पाकिस्तानले लगाएको हो ।

पाकिस्तानी विदेश मन्त्रीको दाबीमा कुनै सत्यता नरहेको बताएको भारतको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘भारत पाकिस्तानी विदेश मन्त्रालयको गैर जिम्मेवार तथा अनावश्यक आरोप खारेज गर्दछ । पाकिस्तानी आरोपको उद्देश्य सीमा क्षेत्रमा युद्धको उन्माद फैलाउनु मात्रै हो ।’

पाकिस्तानमा रहेका आतंकवादीलाई भारत तर्फ आक्रमण गर्न उक्साउनका लागि यस्तो भनाई आएको भारतीय आरोप छ । यस्तै भारतले संभावित आतंकवादी आक्रमणसँग जोडिएका जानकारी साझा गर्न पनि पाकिस्तानसँग आग्रह गरेको छ ।

चैत्र २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू