पछाडि सिटमा बसेकी युवतीसँग मस्किँदा जिप सडकबाट गुल्टियो

बुटवल- अर्घाखाँचीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागि छुटेको गाडी सोमबार दिउँसो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए। घाइतेहरुका अनुसार ड्राइभर पछाडि सिटमा बसेकी युवतीसँग जिस्कँदा जिप सडकबाट गुल्टिएको थियो।

लु १ ज १२२९ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमा २ जनाको र जिल्ला अस्पताल सन्धिखर्कमा एक जना गरी तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठको मृत्यु भएको छ।घाइते १५ जनालाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको प्रहरी निरिक्षक गम्भीर जंग थापाले जानकारी दिए।

१५ जना घाइतेको थप उपचार भैरहवामा


गाडी दुर्घटनामा घाईते भएका १५ जनालाई सन्धिखर्क अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ।

भूमिकास्थान ९ का भारती थापा, भूमिकास्थान ७ का शिवबहादुर रायमाझी, सन्धिखर्क १२ का विष्णुमाया श्रेष्ठ, भुमिकास्थानका ज्ञानु थापा, रोल्पाका रेगबहादुर थापा, निर्मला घर्ती मगर, सन्धिखर्क ९ का मुमादेवी आचायर्य, मालारानी ५ का सन्ध्या भुसाल, प्युठान ऐरावतीका सोनु शाही र डेविट विक्रम शाह, सन्धिखर्क १२ का राजेश नेपाली रहेका छन्।

यस्तै भूमिकास्थान ५ का मिना बन्जाडे, भूमिकास्थान ८ का हिराबहादुर विक, भूमिकास्थान ६ का संगीता घर्ती, भूमिकास्थान५ का जीवन थापा र भूमिकास्थान नगरपालिका ६ का चालक श्यामबहादुर थापालाई पनी भैरहवा रिफर गरिएको प्रहरी निरिक्षक गम्भीर जंग शाहले जानकारी दिए।

गाडीचालक थापालाई प्रहरीको नियन्त्रणमा उपचारका लागि भैरहवा लगिएको छ। भूमिकास्थान ५ का जिवन राना भने जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि डिस्चार्ज भएका छन्।

युवतीसँग जिस्कँदा दुर्घटना


गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएपनि घाइतेहरुले ड्राइभरको लापरबाहीका कारण दुर्घटना भएको बताएका हुन्।

दुर्घटनामा घाइते सोनु शाही भन्छिन्–‘४ जना बस्ने ठाउँमा ६ जना राखेको थियो, ड्राईभर र खलासी पछाडि बसेकी केटीसँग जिस्किइरहेका थिए, त्यहीबेलामा गाडी पल्टियो।’

जीपको अगाडिको सिटमा चालकसहित ४ जना र चालकपछाडिको दोश्रो लाईनमा बालबालिकासहित ८ जना सवार थिए। ‘ड्राईभरले पछाडि बसेकी केटीसँग कुरा गर्दै मस्किदै गाडी चलाइरहेको थियो, घाइते भएका राजेश नेपालीले भने, ‘गाडी उकालो चढ्दै थियो, गाडीको ब्रेक लागेन, ब्रेक नलागेपछि खलासीलाई गाडी रोक्ने ओट लगाउन भनेको थियो, खलासीले ओट राख्ने केही भेटाएन, अनि गाडी पल्टियो।’

नुवाकोटको पोख्रेडाँडा पुग्न लागेको गाडि फर्केर सन्धिखर्क गएर थप यात्रु राखेर फर्किएको थियो।

चैत्र २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू