लोकसभा चुनाव २०१९

भारतको निर्वाचन पर्वको पहिलो चरणमा बिहीबार मतदान, सकियो प्रचार

फाइल तस्बिर

पूर्णिया (बिहार) – लोकशक्तिको निर्णायक प्रदर्शनी मानिने आम निर्वाचनको पहिलो चरणमा बिहीबार भारतका ५४३ लोकसभा क्षेत्र मध्ये २० राज्यका ९१ क्षेत्रमा मतदान हुँदैछ।

बहुमतीय (फर्स्ट पास्ट द पोस्ट) पद्धतिद्धारा निर्वाचन स्वीकारेको भारतमा यसपल्ट झण्डै ९० करोड मतदाताले नरेन्द्र मोदी सरकारको निरन्तरता या राष्ट्रिय रुपमा उनका विरुद्ध निर्वाचन पूर्व निर्माण हुन नसकेको ‘विकल्प’ का पक्षमा मतदान गर्नु पर्ने छ ।

मंगलबार साँझ नियम र प्रजातान्त्रिक परम्परा अनुसार बिहीबारका लागि तोकिएका ९१ क्षेत्रमा सार्वजनिक प्रचार कार्यक्रम निशेधित बन्न पुगेका छन् । बिहीबारको निर्वाचनमा दक्षिणी राज्य आन्ध्रप्रदेश र केही वर्षअघि त्यसबाट चोइटिएर अलग प्रदेशको हैसियत आर्जिन सफल तेलंगनाका सबै अर्थात क्रमशः २५ र १७ क्षेत्रमा मतदान हुने छन् ।

निर्वाचन क्षेत्रका हिसाबले सबभन्दा ठूलो प्रान्त उत्तर प्रदेशका ८० मध्ये ८ क्षेत्र, बिहारमा चार, महाराष्ट्रमाा सात, पश्चिम बंगालमा दुई, उडिसामा चार, असममा पाँच, उत्तराखण्डका सबै पाँच, छत्तिसगढमा एक, जम्मू–कश्मीरमा दुई तथा अरुणाञ्चल प्रदेशका दुई क्षेत्रमा मतदान हुने छ । यस्तै अण्डमान निकोवरको एक, लक्षदीपको एक, आउटर मणीपुरको एक, मेघालयका दुई, मिजोरमको एक, नागल्याण्डको एक, त्रिपुराको एक र सिक्किमको एक क्षेत्रमा सात चरणमा विभाजित भझण्डै पाँच साता लामो निर्वाचन प्रक्रियाको पहिलो चरणका लागि बिहीबार मतदान तोकिएको छ ।

अन्तिम चरणको निर्वाचन अर्थात मे १९ को मतदान समाप्त भएको चारदिनपछि अर्थात मे २३ मा मतगणना कार्यक्रम निर्धारित गरिएको छ र त्यसको भोलिपल्टसम्म सबै निर्वाचन क्षेत्रका नतिजा प्राप्त हुने देखिन्छ ।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन विरुद्ध कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) चुनावी मैदानमा उत्रिएता पनि सबभन्दा ठूलो राज्य रहेको उत्तर प्रदेशका दुई क्षेत्रीय दल, समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले गठबन्धन बनाई दुवै राष्ट्रिय गठबन्धनबाट आफूलाई बााहिर राखेका छन् चुनाव पूर्व ।

निर्वाचन परिणामले त्रिशंकु संसद जन्माएमा क्षेत्रीय तथा प्रान्तहरुमा सीमित दलहरुले चुनावपछिको समिकरणमा महत्वपूर्ण भूमिका पाउने भएता पनि अहिलेसम्मको चुनावी विश्लेषणमा अधिकांश सर्वेषणहरुले नरेन्द्र मोदीको सत्तामा दोस्रो अवधि लगभग सुनिश्चित भएको अनुमान गरेका छन्, यद्यपि गठबन्धनको नेतृत्व गर्ने भारतीय जनता पार्टी भित्र पनि केही असन्तुष्टि र असहजता देखा परेका छन् ।

पार्टीका संस्थापक नेता लालकृष्ण आडवानीलाई उनीसँग परामर्श नै नगरि निर्वाचनबाट बाहिर राखी उनले प्रतिनिधित्व गर्दै आएको गुजरातको गान्धी नगर सिटी पार्टी अध्यक्ष अमित शाहलाई दिइएको छ ।

मोदी फेरि प्रधानमन्त्री बनेमा शाह शक्तिशाली गृहमन्त्री पदका दाबेदार बन्ने अड्कलबाजीले पार्टीका वरिष्ठ नेता तथा हालका गृहमन्त्री राजनाथ सिंह लगायत आशंकित बनेको चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ । यद्यपि उनी पूर्णरुपमा चुनाव प्रचारमा होमिएका छन् ।

प्रतिपक्षी कांग्रेस अध्यक्ष राहुल गान्धीले यसपल्ट आफ्नो परम्परागत तथा पारिवारिक पकड रहेको अमेठी (उत्तर प्रदेश) सँगै केरलाको वायनाड क्षेत्रबाट पनि चुनाव लड्ने निर्णय गरेर कतै अमेठी उनका लागि असुरक्षित त बन्दै गएको छैन ? भन्ने संकेत दिएका छन् । अमेठीमा राहुल गान्धी विरुद्ध भारतीय जनता पार्टीले केन्द्रीय मन्त्री स्मृति इरानीलाई उम्मेदवार बनाएको छ ।

भारतीय जनता पार्टीबाट ‘स्टार’ प्रचारकका रुपमा प्रधानमन्त्री मोदी, पार्टी अध्यक्ष अमित शाहसँगै उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ, गठबन्धनका नेता (जनता दल युनाइटेड) तथा बिहारका मुख्यमन्त्री नीतिश कुमार, पार्टीका अध्यक्ष शरत यादव छन् भने कांग्रेसका तर्फबाट राहुल गान्धी, सोनिया गान्धी र छोरी प्रियंका गान्धी नै ‘स्टार क्याम्पेनर’ को भूमिकामा छन् राष्ट्रव्यापी रुपमा ।

चैत्र २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्