भारतीय सीमा क्षेत्रमा लुटपाट गर्ने गिरोहको निशानामा नेपाली मजदुर

भारतमा रोजगारिका लागि गएका नेपालीहरु रुपैडियाँ नाकाबाट घर फर्किदै। फाइल तस्बिर- कुमार श्रेष्ठ/देश सञ्‍चार

भीमदत्तनगर-कञ्चनपुरकाे नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो केही दिनयता भारतबाट रोजगारी गरेर घर फर्किने नेपालीहरु लुटिने क्रम बढेको छ।

नयाँ वर्ष (विषु पर्व) मनाउन भारतका विभिन्न सहरबाट मजदुरी गरेर फर्किरहेका नेपाली मजदुर सीमा क्षेत्रमा नेपाली तथा भारतीय लुटपाट गर्ने गिरोहको निशानामा पर्ने गरेका छन्।

भारतको अल्मोडाबाट मजदुरी गरेर फर्किने क्रममा मङ्गलबार बेलुकी भीमदत्तनगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा नेपालीबाटै मुगुको लिबु गाउँपालिका–२ का ५० वर्षीय लालबहादुर शाही, १९ वर्षीय राजेश शाही र १८ वर्षीय नवीन बुढा नगद र सामानसहित लुटिएका छन्।

जिल्ला प्रहरी कार्यालयले ब्रह्मदेव क्षेत्रमा उनीहरुलाई नशालु पदार्थ मिसाइएको जुस खान दिएर लुटपाट गरिएको जनाएको छ। उनीहरुसँग रहेको २५ हजार भारतीय रुपैयाँ, तीन थान मोबाइल र अन्य लत्ताकपडा लुटेराले लगेका छन्। ‘दुई नेपाली युवाले नै हामीलाई नजिक हुन्छ भनेर टनकपुर हुँदै ब्रह्मदेव पुर्‍याए’, शाहीले भने, ‘उनीहरुले खाजा खाउँ भने। उनीहरुले दिएको जुस खाँदा तीनै जना बेहोस भएछौँ।’

केही समयपछि होसमा आएका शाहीले ब्रह्मदेव सिमा प्रहरी चौकीमा खबर गरेपछि उनीहरुको घटनास्थलबाट उद्दार गरिएको थियो। बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन आएका शाही बाहेक अन्य दुई भने अर्थचेत अवस्थामै थिए।

प्रहरीले लुटेराहरुको खोजीकार्य भइरहेको जनाएको छ। उद्धार गरिएकालाई दातृ निकायको सहयोगमा घर पठाउने तयारी हुँदैछ। तीनै जना गत मङ्सिर महीनामा रोजगारीका लागि भारत गएका थिए। त्यसैगरी कैलालीको मोहन्याल गाउँपालिका–२ का दुई युवक भारतबाट मजदुरी गरेर घर फर्किने क्रममा बुधबार बिहानदेखि सीमावर्ती भारतीय बजार बनवासा क्षेत्रबाट सम्पर्कविहिन भएका छन्।

मोहन्याल–२ का रमित घर्ती र गगन रोका मगर चार लाख भारतीय रुपैयाँसहित सम्पर्कविहिन भएका हुन्। ‘बनवासाको पवन होटलसम्म हिजो बिहानसम्म आएको भन्ने छ, तर होटल साहुलाई सोध्दा टाँगामा महेन्द्रनगर गएको बताउँछन्’, सम्पर्कविहिन दुई युवकसँगै काम गरेका मोहन्यालकै मिलन रोकामगरले भने, ‘म अघिल्लो दिन यहाँ आइपुगेँ। उनीहरु हरिद्वार पुग्दासम्म सम्पर्क मै थिए।’

सडकको काम गर्दै आएका करीब ६० मध्ये आफूसँग ४२ जना घर फर्किएको मिलनको भनाइ छ। ‘साहुबाट पैसा लिनुपर्ने भएकाले रमित र गगन ढिलो हिँडेका हुन्’, उनले भने।

दुई दिनदेखि सम्पर्कविहिन बनेपछि अभिभावक उनीहरुको खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय पुगेका छन्। प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले सम्पर्कविहिन युवकद्वयको खोजीकार्य भइरहेको जानकारी दिए।

चैत २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्